एमालेको स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ — बुधबार अपरान्ह ४ बजेका लागि बोलाइएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार स्थगित बैठक अब बिहीबार अपरान्ह बस्नेछ ।

मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णग गरेको थियो । त्यसपछि विभिन्न चरणमा भएका अनौपचारिक छलफल निष्कर्षमा नपुगेपछि बुधबारका लागि बोलाइएको बैठक अर्को दिनसम्मका लागि स्थगित भएको बताइएको छ ।

संस्थापन पक्षले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेपछि एमालेको आन्तरिक विवाद विभाजनउन्मुख बनेको छ ।

शीर्ष नेताहरुसँग एकताको सम्भावना कमजोर रहेको निष्कर्षसमेत निकालेको संस्थापनपक्ष सकेसम्म धेरै भन्दा धेरै नेता कार्यकर्ता आफ्नै समूहमा राख्ने योजनामा छ । त्यसैले दोस्रो तहका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसहित १२ जना तत्कालीन सांसदलाई स्पष्टिकरण सोधेपनि उनीहरुमाथि कारबाही रोकिएको छ ।

२ जेठमा फर्कने वा फागुन २३ पछिका निर्णय कार्यान्वयन गरेर जाने भन्नेमा एमालेमा विवाद छ । एकतालाई बचाइराख्‍न केही दिन यता दोस्रो तहका नेताहरुको संवादमा जुटेका छन् । यस्तै पछिल्ला अनौपचारिक छलफलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली जेठ २ फर्कन सकरात्मक बनेको बताइएको छ ।

ताजा समाचार