एमालेलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने विघटित कार्यदलको निष्कर्ष

काठमाडौं । नेकपा एमालेका नेताहरूले पार्टीलाई एकताबद्ध बनाउने सम्पूर्ण ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दोस्रो तहका नेताहरुले विघटित पार्टी एकता कार्यदलका सदस्यहरूले पार्टीलाई एकताबद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालिएको प्रतिक्रिया दिएका हुन् ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङका अनुसार शनिबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढ्ने निर्णय गरिएको हो ।

‘पार्टी एकताका लागि अनुमोदन गरिएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्दा पार्टी एकताबद्ध बनाउन सकिन्छ । नेकपा एमाले एकताबद्ध हुँदा देशको कम्युनिस्ट आन्दोलनलाई, लोकतान्त्रिक आन्दोलनलाई र संविधानलाई सबल बनाउन सकिन्छ । सोही निष्कर्षका साथ सो १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै अगाडि बढ्ने निष्कर्षमा पुगेका छौं ।’, उनले भने ।

यस्तै पार्टीका सचिव गोकर्ण विष्टले पार्टीलाई एकताबद्ध बनाउने आमपार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको बताए । विघटित पार्टी एकता कार्यदलका सदस्यसमेत रहेका उनले भने, ‘पार्टीका सबै नेता, कार्यकर्ताहरूको यति लामो योगदानबाट निर्मित पार्टीलाई एकताबद्ध बनाउन हामीले हाम्रा प्रयत्नहरूलाई केन्द्रित गर्नु स्वाभाविकै हो । पार्टी कार्यकर्तामा देखापरेको, अन्योल र चिन्तालाई दूर गर्नका लागि फेरि पनि यो पार्टीलाई कुनै पनि सर्तमा जोगाउँछौँ, एकताबद्ध पार्छौं भन्ने सन्देशका लागि पनि अनौपचारिक रूपमा भेटघाट गर्ने काम स्वाभाविक छ ।’

बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू सुवास नेम्वाङ, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र विष्णु रिमाल सहभागी थिए भने वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, गोकर्ण विष्ट, रघुजी पन्त सहभागी थिए ।

ताजा समाचार