दरबन्दी मिलानको शिक्षक संगठनद्धारा स्वागत, संघले विरोधका लागि विरोध गरेको आरोप

भीमदत्तमा ४ सय ७७ शिक्षकको दरबन्दी मिलान



महेन्द्रनगर ५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको शिक्षा सुधार योजनालाई अगाडी बढाएको छ ।
उच्चस्तरीय शिक्षा सुधार समितिले दिएको प्रतिवेदन अनुसार नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका कार्यक्रमलाई अघि बढाएको हो ।
लामो समयदेखि सामुदायिक विद्यालयमा प्रमुख समस्याको रुपमा रहेको शिक्षक दरबन्दी मिलानलाई नगरपालिकाले समाधान गरेका छ । करिब आठ वर्षदेखि शिक्षक दरबन्दी मिलान ठुलो समस्याको रुपमा रहदैँ आएको थियो ।
भीमदत्त नगरपालिकाको शिक्षा शाखाले तीन वटै तहमा ४ सय ७७ शिक्षक दरबन्दी मिलान गरेका जनाएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार प्राथमिक तहमा २ सय ७५, निम्न माध्यमिक तहमा १ सय ७ र माध्यमिक तहमा ९५ वटा दरबन्दी मिलान गरेको हो । नगरपालिकाले उच्चस्तरिय शिक्षा सुधार कार्यदलको प्रतिवेदन, शिक्षा विभागको परिपत्र, दरबन्दी मिलान संवाद समितिले दिएको प्रतिवेदनका आधारमा दरबन्दी मिलान गरिएको उनले बताए । भीमदत्त नगरपालिकाले नगरको शिक्षा सुधारका लागि पुर्व जिल्ला अधिकारी देविदत्त भट्टको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।


कार्यदल शिक्षक दरबन्दी मिलान, विद्यालयमा दरबन्दी स्वीकृत लगायतका विषयका तत्काल समाधान गर्न नगरपालिकालाई सुझाव दिएको थियो । अनुमती पाएर पनि स्वीकृत नभएको विद्यालयमा यस पटक दरबन्दी स्वीकृत भएको छ । दरबन्दी मिलान भएपछि नगरका सबै सामुदायिक विद्यालयमा शिक्षक पुगेका छन् ।


कार्यदलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पुर्वाधार निर्माण, शिक्षकको दरबन्दी व्यवस्थापन लगायतका अल्पकालिन तथा दिर्घकालिन समस्या समाधानका आवश्यक सुधार दिएको छ । कार्यदले बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयको भौतिक तथा शैक्षणिक व्यवस्थापकीय पक्षको सुधार, सिकाइ क्रियाकलापमा विद्यार्थीको सहभागितामा जोड र विद्यालयको योजना तथा स्रोत व्यवस्थापन लगायका विषयलाई सम्बोधन गर्न सुझाएको छ ।


दरबन्दी मिलानमा शिक्षक संघ बाहेक अन्य संगठनद्धारा स्वागत


करिब आठ वर्षदेखि रोकिएको दरबन्दी मिलानले ठुला समस्या समाधान भएको भन्दैँ शिक्षक संगठनहरुले स्वागत गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, एकिकृत अखिल राष्ट्रिय शिक्षक संगठन लगायतका संगठनले दरबन्दी मिलानको स्वागत गरेका हुन् । भने नेपाली कांग्रेस आवद्ध शिक्षक संघले मात्रै यसमा आपक्ति जनाएको छ । संगठनहरुले लामो समयदेखि रहेको समस्या समाधान भएकोमा नगरपालिकालाई धन्यवादसहित दरबन्दी मिलान स्वागतयोग्य रहेको जनाएको छ ।
शिक्षक संघ कञ्चनपुरले भने दरबन्दी मिलानमा मनोमानी रुपमा गरिएको आरोप लगाउँदै असन्तुष्टी जनाएको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमदत्त नगरपालिकाका अध्यक्ष पुष्पराज ओझाले लामो समयदेखि रोकिएको दरबन्दी मिलान कार्य स्वागत योग्य रहेको बताए । प्राथमिक तहमा विद्यार्थी संख्या र निम्न माध्यमिक र माध्यमिक तहमा विद्यार्थी संख्या र विषयगत रुपमा दरबन्दी मिलान सुखद पक्ष भएको उनले बताए ।

‘नगरपालिका भित्रको आन्तरिक मिलानमा पायक पर्ने नपर्ने ठुलो विषय होईन, सेवा सम्पादनमा सरुवा हुनु सामान्य पक्रिया हो ।’ उनले भने ‘एकै विद्यालयमा काम गरेर रिटायर्ड हुनुपर्छ भन्ने मानसिकता भएकालाई अप्ठरो भएको हुन सक्छ, दरबन्दी मिलान विधि पक्रिया सम्मत छ ।’ साथै विरोधका लागि विरोध गर्ने मनसायले दरबन्दी मिलान विवादीत बनाउन खोजिएको उनको आरोप छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठन नगर सचिव बिरेन्द्र भट्टले विज्ञप्ती नै जारी गरि शिक्षक दरबन्दी मिलान स्वागत योग्य भनेका छन् । उनले लामो समयदेखि रोकिएरको शिक्षक दरबन्दी मिलान हुदाँ सबै विद्यालयले शिक्षक पाउने अवस्था आएको बताए । उनका अनुसार नगरपालिकाले अनुमती पाएको सबै विद्यालयमा दरबन्दी स्वीकृत गरेपछि गाउँ क्षेत्रमा विद्यालयले पनि शिक्षक पाउने भएका छन् ।


शिक्षक दरबन्दी मिलान नगरपालिकाको ठुलो उपलब्धी भएको बताउँदै उनले सबैलाई समेटेर आवश्यक छलफलको माध्यमबाट वास्तविक समस्या देखिए समाधान गरिनु पर्ने औल्याए । नेपाल राष्ट्रिय शिक्षक संगठन कञ्चनपुरका सचिव बिरराम शार्कीले शिक्षक दरबन्दी मिलान स्वागतयोग्य रहेको बताए । उनले शिक्षा ऐन निमावाली, दरबन्दी मिलान कार्यविधि अन्र्तगत नै का काम भएको बताए । नगर शिक्षा समितिले सबै शिक्षक संगठनका प्रतिनिधिको सहभागीतामा सबै विद्यालयमा दरबन्दी स्वीकृत गर्ने तथा विषय र तहगत रुपमा दरबन्दी मिलान गर्ने निणर्य गरिएको थियो ।

नेपाल शिक्षक संघ कञ्चनपुरका अध्यक्ष गणेश चन्दले शिक्षा समितिले आफुहरुसँग समन्वय नगरि दरबन्दी मिलान गरिएकाले संघले आपक्ति जनाएको बताए । नगर शिक्षा समितिले शिक्षक दरबन्दी मिलानका क्रममा संघलाई आधिकारी रुपमा नबोलाई, आवश्यक समन्वय नगरी काम गरेको उनको दावि छ ।


‘शिक्षक दरबन्दी मिलान हुनु एकदमै राम्रो भएको छ ।’ अध्यक्ष चन्दले भने ‘यो एकलौटी रुपमा गरियो, संघलाई बाईपास गरेर दरबन्दी मिलान गरिएकोमा मात्रै हाम्रो आपत्ति हो ।’ त्यस्तै संघकै भीमदत्त नगर अध्यक्ष मदन चन्दले पनि दरबन्दी मिलान मनोमानी तरिकाबाट भएको गरे । उनले दरबन्दी मिलान तथा व्यवस्थापन निर्देशिका बमोजिम पारदर्शि नभएको आरोप लगाए । संघले नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी गरि माग सम्बोधनका लागि आग्रह गरेको छ ।


संघले भीमदत्त नगरपालिकासँग संवादका लागि मंगलबार चार सदस्यी वार्ता टोली गठन गरेको अध्यक्ष चन्दको भनाई छ ।
‘शिक्षकहरुको माग सुनवाई हुनुपर्छ भन्ने संघको माग हो ।’ उनले भने ‘नगर प्रमुख सुरेन्द्र विष्ट ज्युसँग यस विषयमा आज कुरा भएको छ, उहाँ एकदमै साकात्मक हुनुहुन्छ, वार्ताका लागि टोली पनि गठन गरिसकेका छौँ ।’


त्यस्तै नगर शिक्षा समितिका सदस्य भगिरथ पाण्डेले सबै शिक्षक टे«ड र सरोकारवाला निकायसँगको छलफल र सुझाव सल्लाहमा दरबन्दी मिलान गरिएको बताए । उनले दरबन्दी मिलानमा चित्त नबुझेमा नगर पालिकाको शिक्षा शाखामा निवेदन दिएमा त्यस उपर छलफल गरि आवश्यक संशोधनसहित माग सम्बोधन गरिने उनको भनाई छ ।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले नगरपालिकाले उच्चस्तरिय शिक्षा सुधार कार्यदलको प्रतिवेदन, शिक्षा विभागको परिपत्र, दरबन्दी मिलान संवाद समितिले दिएको प्रतिवेदनका आधारमा दरबन्दी मिलान गरिएको बताए ।

ताजा समाचार