मदन पुरस्कारका लागि यी नौ पुस्तक छनोट

काठमाडौं । यस वर्षको मदन पुरस्कारका लागि नौवटा पुस्तक छनोटमा परेका छन् । ‘मदन पुरस्कार–२०७७’ का लागि मदन पुरस्कार गुठीले कुल २२२ पुस्तकमध्ये नौवटा पुस्तकलाई छनोट गरिएको जनाएको छ । ‘बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले गुठीलाई नौ पुस्तकको नाम उपलब्ध गराएको थियो ।

सूचीमा गिरी श्रीस मगरको एकलव्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, भैरवबहादुर थापाको नृत्याक्षर विज्ञान छन् ।

यसैगरी प्रभा बरालको फिलिंगो, लेखनाथ क्षेत्रीको फुलांगे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट नौ पुस्तकको सूचीमा परेका छन् ।

‘गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो’, गुठीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकले सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ ।

ताजा समाचार