खोलाले कार बगाउँदा दाङमा ४ जनाको मृत्यु, १ जना घाइते

महेन्द्रनगर: दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भए संगै एकजना घाइते भएका छन् ।

नेपालगञ्जबाट घोराहीतर्फ जादै गरेको प्रदेश ३-०१-२४ च ४४४० नं. को कारलाई घोराही उपमहानगरपालिका-४ गोग्लीस्थित सिस्ने खोलाको बाढीले बगाउँँदा कारमा सवार चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १३ की ३२ वर्षीया शुसिला श्रेष्ठ र ४० वर्षीया रितामाया पुन तथा घोराही-१४ का २९ वर्षीया राधा कुँवर र ४० वर्षीया विमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

विमला र रिताको शव घटनास्थल देखि ३ किलोमिटर टाढा आज बिहान ६:१५ बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कार चालक घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ४३ वर्षीय नरबहादुर पुन घाइते छन् । पुनको खुट्टा भाँचिएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

उनलाई बगाएको स्थानदेखि करिब १.५ किलोमिटर टाढा घोराही–१७ बेलभारको नयाँवस्तीमा फेला पारेर उद्धार गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार