इनमको नाम जोड्दै आत्महत्या गरेका झापाका खतिवडा मानसिक रोगी रहेको प्रहरीको दाबी

प्रकाशित मिति:
spot_img

काठमाडौं । बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो नाम जोडेर सामाजिक सञ्जालमा स्टाटस लेख्दै आत्महत्या गरेका झापाको कनकाई नगरपालिकाका यशु खतिवडा मानसिक रोगी रहेको प्रहरीले दाबी गरेको छ । लक्ष्मीपुरमा फोटो तथा भिडियोग्राफी स्टुडियो सञ्चालन गर्दै आएका खतिवडा दुई दिनअघि आफ्नै घरको कोठामा चुकुल लगाएको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक वसुन्धरा खड्काले प्रारम्भिक अनुसन्धानबाट खतिवडा मानसिक रोगी रहेको देखिएको र सोही कारण आत्महत्या गरेको हुन सक्ने बताइन् । प्रहरी हिरासतमा रहेका इनम सापकोटासँग खतिवडाको कुनै सम्बन्ध रहे–नरहेको विषयमा हालसम्म केही नखुलेको उपरीक्षक खड्काले जानकारी दिइन् ।

मृत्युअघि खतिवडाले सामाजिक सञ्जालमा लेखेको स्टाटसमा इनमको ह्वाट्सएप म्यासेजको प्रसङ्ग उल्लेख गर्दै आफ्नो गल्तीको सजाय परिवारलाई नदिन आग्रह गरेका थिए । उनले इनमको ह्वाट्सएपबाट आएको भनिएको म्यासेज आफ्नो परिवार र निर्दोष बुबालाई फसाउन अरू कसैले रचेको नाटक भएको दाबी गरेका थिए । तर, स्टाटसमा उनले को इनम भन्ने स्पष्ट खुलाएका छैनन् ।

मृतकका छिमेकी तथा साथी लीलाराज झापालीले पनि खतिवडा केही दिनदेखि मानसिक समस्यामा रहेको बताए । परिवारले समयमै उनको मानसिक समस्याबारे थाहा नपाउँदा यस्तो अप्रिय निर्णय लिएको झापालीको भनाइ छ । इनमसँगको संभावित सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारले बुझेर आजै अन्त्येष्टि गरेको छ ।

spot_img

ताजा समाचार