चैनपुर । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । टुमेडा गाउँबाट वडा नम्बर ११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटो आइतबार बिहान अन्दाजी १० बजेर २० मिनेटमा ब्रेक फेल भई सडकबाट करिब ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परी बुङ्गल नगरपालिका–१० की अन्दाजी ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा र ५/६ वर्षीया डल्ली महराको मृत्यु भएको छ । उद्धारमा खटिएको प्रहरी टोलीले घटनास्थलको बीच भिरमा उनीहरूको शव फेला पारेको हो ।

अटोमा चालकसहित चार–पाँच जना सवार रहेको बुझिएको प्रहरीले जनाएको छ । घटनालगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेकबाट प्रहरी सहायक हवल्दार उत्तमसिंह बोहराको कमाण्डमा चार जना, इलाका प्रहरी कार्यालय बुङ्गलबाट प्रहरी नायब निरीक्षक तेजबहादुर रावलको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाको कमाण्डमा सात जनाको टोली खोज तथा उद्धारका लागि घटनास्थलमा खटिएको थियो ।
दुर्घटनाग्रस्त अटो तथा अन्य सवार व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।






