प्रहरी कार्यालयको गेटअगाडि झगडा गर्ने ६ जना नियन्त्रणमा

प्रकाशित मिति:
spot_img

महेन्द्रनगर । कञ्चनपुरको वडा प्रहरी कार्यालय महेन्द्रनगरको गेटअगाडि वादविवाद तथा झैझगडा गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार कात्तिक २६ गते भीमदत्त नगरपालिका–५ का रोशन लुहारलाई सोही ठाउँका राजेश लुहार र भीमदत्त–१७ का विशाल कोलीले हातपात तथा झैझगडा गरेको भन्दै निवेदन परेको थियो।

सोही निवेदनमाथि छलफल गर्न आइतबार (कात्तिक २९ गते) अपराह्न ४ बजेर १० मिनेटमा पक्ष र विपक्षका मानिसहरू वडा प्रहरी कार्यालय आउने क्रममा गेटअगाडि पुनः विवाद र झगडा भएको प्रहरीले जनाएको छ। झगडा नियन्त्रणमा लिने क्रमको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको थियो।

प्रहरीले झगडामा संलग्न दुवै पक्षका भीमदत्त नगरपालिका–५ का ५८ वर्षीय रामबहादुर लुहार, २२ वर्षीय राजेश लुहार, २६ वर्षीय रोहित लुहार, २२ वर्षीय रोशन लुहार र २७ वर्षीया निशा लुहार तथा भीमदत्त–१७ का २५ वर्षीय विशाल कोलीलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रावतले बताए।

spot_img

ताजा समाचार