काँग्रेस अधिवेशनः कञ्चनपुरमा कस्तो छ भोली हुने वडा अधिवेशनको तयारी ?

महेन्द्रनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । काँग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशन अन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो ।

तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ ।

सबै जिल्लामा भोली नै वडा अधिवेशन नभएपनि कञ्चनपुर सहित ५६ जिल्लामा भने भोली वडा अधिवेशन हुने भएको छ । कञ्चनपुर जिल्लामा पनि भोली हुने वडा अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको प्रमुख निर्वाचन अधिकृत भरत बहादुर सिंहले बताए ।

‘कञ्चनपुरका नौँ वटा पालिकाका ९२ वटा वडामा भोली नै वडा अधिवेशन गर्ने गरी हामीले तयारी गरेका छौ ।’ प्रमुख निर्वाचन अधिकृत सिंहले भने ‘हामीले मतदान अधिकृतलाई निर्वाचन सामाग्री सहित जिल्लाका सबै वडामा रहेका मतदान केन्द्रमा पठाइसकेका छौ ।’ उनले अगाडी थपे ‘ जिल्लाका ९२ वटै वडामा भोली वडा अधिवेशनबाट भोली नै निर्वाचन प्रक्रिया हुन्छ ।’

उनकाअनुसार शुक्रबार विहान ८ बजे देखी ४ बजे सम्म निर्वाचन प्रकृयाको समय राखिएको छ । ‘हामी मतदाताको संख्या हेरेर निर्वाचन प्रक्रियाको समय राखेका छौ ।’ प्रमुख निर्वाचन अधिकृत सिंहले भने ‘कम मतदाता भएका वडामा कम बढी मतदाता भएको वडामा बढी समय राखेका छौ ।’

ताजा समाचार