पहिराले पुरिएर ५ को मृत्यु, ३ बेपत्ता

पर्वत: यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन्।

गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला परेका छन्। पहिरामा पुरिएका एकै घरका पाँच जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ। घरका तीन बेपत्ता रहेको हुनाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

यस्तै कुश्मा नगरपालिका–११ पकुवामा पहिरामा पुरिएका ३५ वर्षीया दुर्गा पौडेल र उनका छ वर्षीय छोरा गणेशको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। यस्तै मोदी गाउँपालिका–५ अम्बोटमा पहिरामा पुरिएर ५० वर्षीया ठुलीमाया थापाको मृत्यु भएको छ। जिल्लाका अन्य स्थानमा पनि भीषण वर्षाका कारण क्षति भएको अनुमान गरिए पनि अहिलेसम्म पूर्ण विवरण नआएको प्रहरीले जनाएको छ।

हेलम्बु राजमार्ग लगातार अवरुद्ध:

सिन्धुपाल्चोक– गए रातिदेखिको लगातारको वर्षा र बाढीले निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ। मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिला रातोपहरोमा माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले आग्रह गरे। साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरो र तलबाट खोलाले सडक कटान गरिरहेको छ।

श्रोतरासस

ताजा समाचार