सुदूरपश्चिमा नेकपा एकीकृत समाजवादी रोज्ने सांसदको संख्या १४ पुग्यो

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने प्रदेश सभा सांसदको संख्या १४ पुगेको छ । सोमबार एमालेकी प्रदेश सांसद माया तामाङ (बोहरा)ले पनि नेकपा एकीकृत समाजवादीकोे पक्षमा सनाखत गरेकी छन् ।

उनि बझाङ्गकी समानुपातिक सांसद हुन् । नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य भएकी उनले पार्टी विभाजनसँगै आज औपचारिकरुपमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा उपस्थित भएर नवगठित नेकपा एकीकृत समाजवादी पार्टी रोज्दै सनाखत गरेकी हुन् ।

हिजो आइतबार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र प्रदेश सांसद तारा लामा तामाङले निर्वाचन एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए ।

यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्वमन्त्री माया भट्ट, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, कुलविर चौधरी, अमरबहादुर साउँद, बलबहदुर सोडारी र सुशिला बुढाथोकीले पहिलेनै समाजवादीमा सनाखत गरिसकेका छन् ।

यो संगै सुदूरपश्चिम प्रदेशसभामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सबैभन्दा ठुलो दल बनेको छ । ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिम प्रदेश सभामा अहिले नेकपा एकीकृत समाजवादीका १४,माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेमा ११ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

सरकारले हालै ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म विभाजनबाट बनेको दल रोज्न पाउने व्यवस्था राखिएको छ ।

ताजा समाचार