ओलीले भीम रावललाई भने– सुदूरपश्चिममा इन्चार्ज लेखराज भट्ट

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्न आग्रह गरेका छन् ।

आज ओली निवास बालकोटमा भएको छलफलमा उनले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने भन्दै रावललाई पार्टीको उपाध्याक्षको जिम्मेवारीमा रहेर सहजीकरण गर्न आग्रह गरेका हुन् ।
सुदूरपश्चिममा १० बुँदे लागु गर्ने कार्यदलमा उपाध्यक्ष रावल, भट्ट र सुदूरपश्चिम अध्यक्ष कर्ण थापा छन् । सोही जिम्मेवारीको आधारमा कार्यदलमा राखिएको भन्दै ओलीले काम अघि बढाउन आफूहरूलाई निर्देशन दिएको प्रदेश अध्यक्ष थापाले जानकारी दिए ।

“तपाईंहरूको आ–आफ्नो जिम्मेवारी छ । काम अघि बढेन भन्ने कुरा आएको छ । लेखराज भट्ट इन्चार्ज हुनुहुन्छ । कर्ण थापा अध्यक्ष हुनुहुन्छ,” ओलीले छलफलमा भनेका थिए, “तपाईंले उपाध्यक्षको हैसियतामा त्यसमा संयोजन गर्नुस् । जेठ २ मा जाने ढंगले काम अघि बढाइसकेका छौँ । त्यसमा समस्या छैन ।”

एमालेभित्र सुदूरपश्चिम इन्चार्जका विषयमा विवाद हुँदै आएको छ । सोही विवादका विषयमा छलफलका लागि नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालकोट पुगेका थिए ।

छलफलमा रावलले जेठ २ को अवस्थामा जस्ताको तस्तै रूपमा जानुपर्ने बताएका थिए । “जेठ २ मा जस्ताको तस्तै रूपमा जानुपर्छ भन्ने हाम्रो विचार हो । पार्टीले त्यस रूपमा गर्छ भने मैले के भन्नु,” रावलको भनाइ उद्धृत गर्दै थापाले भने । बैठकमा सहभागी थापाले रावलको राष्ट्रिय राजनीतिमा आवश्यकता पर्ने भएकाले झनै फराकिलो जिम्मेवारी पाएको बताए ।

“हामीले राष्ट्रिय राजनीतिमा लैजान खोजेका छौँ । पार्टीले पनि त्यही खोजेको छ । उहाँको राष्ट्रिय राजनीतिमा आवश्यकता छ । उहाँ प्रदेशमा गएर खुम्चिएर भएन नि । उहाँलाई जिम्मा नदिने भनिएको होइन । फराकिलो ठाउँमा जिम्मा दिन खोजेको हो नि,” उनले भने ।

ताजा समाचार