बाढीपहिरो प्रभावित बस्तीलाई स्थानान्तरणका लागी सिफारिस

दार्चुला। जिल्ला विपद् व्यवस्थापन समितिले दुहुँ गाउँपालिकाको बाढि प्रभावित वस्तीलाई स्थानान्तरणको लागि पहल गर्ने निर्णय गरेको छ । दुहुँ गाउँपालिकाको सबै भन्दा बढि क्षतिग्रस्त भएका क्षेत्रका वस्तीलाई स्थानान्तरणको लागि पहल गर्ने निर्णय भएको हो ।

दुहुँ गाउँपालिका वडा नम्बर २ को नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा नम्बर ५ को सिमार, नागचौपाती, मखमाली, दमाउढुङ्गा, चुच्चौगाडाका वस्ती स्थानन्तरण गर्नुपर्ने भएको छ । भदौ १३ गते आएको बाढिका कारण वडा नम्बर ३ को श्रीबगड बस्तीहरु समेत क्षति गरेको छ ।

बैठकले बाढि प्रभावित भएर बस्नै नसकिने दुहुँका वस्तीलाई स्थानान्तरणको लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताउनुभयो ।

बैठकले यस वर्षको मनसुन जन्य अविरल वर्षाका कारण विभिन्न मितिमा वर्षासंगै आएको बाढीपहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा विपदबाट व्यक्तिहरुका घर/आवास पूर्ण क्षति तथा विपदबाट घर/आवास जोखिम भई विस्तापित भएका विपद पीडित परिवारहरुलाई स्थानीय तहहरुबाट सिफारिस भए अनुसार पुर्नस्थापना, पुनर्निर्माण र मर्मत प्रबलीकरण कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै लघुजलविद्युत योजना, विद्युत पोल, झोलङ्के पुल, आरसिसि पुल, मोटरेवल पुल, खानेपानी योजना, सिंचाई योजना, विद्यालयहरु, सडक बाटो, सरकारी कार्यालय जस्ता संरचनाहरुमा भएको क्षतिको पुनर्निर्माण कार्यका लागि संघीय सरकार र प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको भट्टले बताउनुभयो ।

बैठकमा अपी हिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित गौडेखोलामा आएको बाढीका कारण केही व्यक्ति, परिवारका घरहरु उच्च जोखिममा रहेकोले उक्त खोला किनारमा तटबन्ध निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

यस्तै मार्मा गाउँपालिका वडा नम्बर ४ स्थित मेलगाड खोलामा आएको बाढीका कारण उक्त खोला किनार आसपासका बस्ति समेतमा जोखिम भएको र सार्वजनिक र निजी व्यक्तिहरुको सम्पत्तिमा ठूलो क्षति पुर्याएको, खानेपानी, सिंचाइलगायत भौतिक पूर्वाधारहरुमा क्षति पुर्याएको अवस्थालाई मध्यनजर गर्दै मेलगाड खोला किनारमामा अविलम्ब पक्कि तटबन्ध निर्माणका साथै झोलङ्गे पुल निर्माण कार्यका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगड तथा दुहुँ गाउँपालिका वडा नम्बर ३ को बीच सिमाना श्रीबगडस्थित निजाङ खोलामा आएको बाढीले पक्की मोटरेबल पुल बगाई पूर्ण क्षति हुँदा दुहुँ गाउँपालिका प्रवेश हुने यातायात सेवा अवरुद्ध भएकोले अविलम्ब पुनर्निर्माण कार्यका लागि नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी महाकाली नगरपालिका वडा नम्बर ८ स्थित डङ्या देखि धौकोटसम्म निर्माणाधिन कच्ची सडकका कारण उल्लेखित सडक खण्डको असिगडा देखि माथि सडक छेउ भीरपट्टीबाट पहिरो खसेर असिगडा सैन्या कटाल क्षेत्र देखि तल असिगडाबगडसम्म धैरै व्यक्तिहरुको खेतियोग्य जमिनमा क्षति भएको छ । 

खेतिपाति क्षति भएको असिगडा डिङ्गेबगरस्थित विभिन्न व्यक्तिहरुको खेतियोग्य जमिन, खेतिपाति, बोटविरुवा क्षति भइ घर समेत जोखिम अवस्थामा भई विस्तापित हुनु परेको अवस्थामा सडक योजना संचालन गर्ने महाकाली नगरपालिकालाई अविलम्ब उक्त सडक खण्डको जोखिम तथा पहिरो भएको स्थानमा प्राविधिक जाँचबुझ गरी पक्की सिमेन्टेड आरसिसि पर्खाल निर्माण गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

यस्तै दुहुँ गाउँपालिका अन्तर्गत वडा नं। २, ३ र ५ मा बाढी र पहिरो गई ठुलो संख्यामा जनधनको क्षति हुनुका साथै क्षतिग्रस्त बस्तीहरु नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुतखोला लगायत क्षेत्रहरुका बस्तीहरु क्षति भएकाले भौगर्भिक अध्ययनको लागि भु–गर्भ विदको टोली खटाई पठाउन नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

ताजा समाचार