प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठक नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन् ।

संसदको अवरोध हटाउनेबारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमलो प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले भने, ‘पार्टीबाट अरु कोही जाने विषयमा छलफल भइरहेको छ ।’

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । आफूहरूले कारबाही गरेका माधवकुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखले बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो ।

साथै आफूहरुले सभामुखको निर्णयमा आपत्ति जनाएर संसद अवरुद्ध गरेको हुनाले सभामुखको निम्तो अस्वीकार गरिएको एमाले नेताहरुले बताएका थिए ।

ताजा समाचार