सत्तारुढ कार्यदल बैठक जारी, मन्त्रीको टुंगो लगाउँदै

काठमाडौं । सत्तारुढ गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी छ । मन्त्रालयको भागबण्डा टुंग्याउन आज विहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

सत्ता साझेदार दलहरुभित्र कानुनी र व्यवहारिक जटिलताहरु रहंदा सरकार बनेको ८० दिन बितिसकेको छ । तर पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

झण्डै तीन महिनासम्मको अवधिमा ६ जना मन्त्री नियुक्त गर्न भ्याएका प्रधानमन्त्री देउवाले १८ जना मन्त्रीको भारी आफैँ बोक्न बाध्य भएका छन । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा कांग्रेस, माओवादी, नेकपा ९एकीकृत समाजवादी० र जनता समाजवादी पार्टी ९जसपा० का प्रतिनिधिहरु सहभागी भएका छन् ।

खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । गत आइतबार गठबन्धनका शीर्ष नेताहरुको बैठकपछि आज मात्र गठबन्धन कार्यदलको बैठक बसेको हो ।

कार्यदलबाटै सहमति जुटाएर शीर्ष नेता बसेर मन्त्रिपरिषद विस्तार गरिने जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

यादवका अनुसार मन्त्रालयको भागबण्डा कार्यदल तहमै टुंग्याउने गरी छलफल अगाडि बढाइएको छ । कार्यदलले मन्त्रालयको भागबण्डा टुंग्याएपछि शीर्ष नेताहरुको बैठक बस्ने यादवले जानकारी दिए ।

संख्यात्मक रुपमा कांंग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति भैसकेको छ । तर यतिबेला कांग्रेसले आठ मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

जसपालाई ५ मन्त्रालय मात्र दिएर प्रधानमन्त्री देउवाले आठ मन्त्रालय राख्न खोजेपछि विवाद भएको छ ।

ताजा समाचार