अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको टोलीले अपाङ्गता भएका एक व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ ।

जिल्ला स्थित भीमदत्त नगरपालिका–०७, खैरेनीका बसन्त लेखकलाई जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख प्रशासकिय अधिकृत पदम राज भट्ट सहितको टोलीले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले २८ वर्षीय लेखकलाई घरमै पुगेर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए ।

‘उनी हिंड्न समेत नसक्ने व्यक्ति भएकोले उनको घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।’ प्रमुख प्रशासकिय अधिकृत भट्टले भने ‘क वर्गका हिडडुल समेत गर्न नसक्ने पूर्ण अपाङगता भएका व्यक्तिलाई यसरीनै घरमै पुगेर नागरिकता वितरण गर्ने गरेका छौ ।’

उमेर पुगेका लेखक राज्यको सेवासुविधाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले घरमै पुगेर नागरिकता दिएको सिडिओ पाण्डेले बताए ।

‘यो बाबु सानैदेखी नै अपाङग हो । हामीले उनलाई जिल्ला प्रशासन कार्यालय सम्म लग्न नसक्दा नागरिकता बनेको थिएन ।’ बसन्तकी आमा मायावती लेखकले भनिन् ‘अहिले प्रशासनका मान्छे घरमै आएर बाबुलाई नागरिकता दिए धेरै खुशी लागेको छ ।’

ताजा समाचार