१४ औँ महाधिवेशनः  कैलालीमा अधिवेशनको सरगर्मी बढ्यो

टीकापुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसंगै कैलालीमा अधिवेशनको सरगर्मी बढ्न थालेको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पछिल्लोसमय चौँथोपटक निर्वाचनको मिति हेरफेर गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेपछि कैलालीमा अधिवेशनको माहोल एकाएक तातेको हो ।

महाधिवेशनको नयाँ मिति तय भएसंगै नेताकार्यकर्ताहरु उत्साहित भएर आपसी भेटघाट, सामूहिक जमघट, छलफल र बैठकलाई तीव्रता दिन थालेका छन् । जिल्ला तहमा नेतृत्वका लागि आकांक्षीले उम्मेदवारी घोषणा गरेर आफ्नो पक्षमा चुनावी नतिजा आउने दाबीसमेत गर्न थालेका छन् ।

पार्टीको तल्ला तहमा वडाअधिवेशन हुन अब ४ दिन मात्रै बाँकी रहँदा नेताकार्यकर्ताको सक्रियता बढेको छ ।

यसअघि जिल्ला अधिवेशनलाई व्यवस्थित गर्न कार्तिक ६ गते जिल्ला कार्य सम्पादन समितिको बैठक बसेर पार्टी सभापति नरनारायण शाहको अध्यक्षतामा १५०१ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरिएको छ । मुल समितिलाई सहयोग गर्न ११ जना संयोजक रहने गरि अन्य विभिन्न उपसमिति गठन गरि जिम्मेवारीसमेत दिइएको छ । त्यससंगै  दशैँतिहारअघि जिल्लाका संघीय निर्वाचन क्षेत्रमा  विभिन्न चरणमा नेताकार्यकर्ताबीच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

त्यस्तै, जिल्ला कार्यसमितिले कार्तिक २४ गते सर्वपक्षीय बैठक बोलाइएको छ । बैठकमा जिल्लाका लागि खटिएका केन्द्रीय निर्वाचन प्रतिनिधि टेकप्रसाद सुवेदी सहितको उपस्थितिमा अधिवेशन केन्द्रित छलफल हुने बताइएको छ । जिल्लामा रहेका पार्टीका केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधि सभा उम्मेदवार, पूर्व जिल्ला सभापति, प्रदेश सभा सांसद, पूर्व सांसद, पूर्व जिविस सभापति, उपसभापति, जिल्ला पदाधिकारी, क्षेत्रीय सभापति, प्रदेशसभा सभापति, प्रदेश सभा उम्मेदवार,  गाउँ, नगरपालिका सभापतिलाई आमन्त्रण गरिएको छ । त्यस्तै, गाउँ, नगरपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, उम्मेदवार र भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष, सभापतिको बैठकमा सहभागिता रहने नेपाली कांग्रेस कैलालीका पार्टी सभापति नरनारायण शाहले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको नयाँ कार्यतालिका अनुसार कार्तिक २७ गते वडा, कार्तिक ३० गते पालिका, मंसिर ३ गते प्रदेशसभा, मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र र मंसिर १० गते जिल्ला तहमा अधिवेशनको मिति तोकिएको छ । सबै तहका अधिवेशन भव्य, सभ्य, एकता, मेलमिलाप, सहमति, सहकार्य र सहअस्तित्वलाई आत्मासाथ गरि सबै प्रक्रिया निर्विवाद ढंगले सम्पन्न गर्न सबैलाई अनुरोध गरिएको प्रचार समितिका संयोजक नृपबहादुर सुनारले बताउनुभयो ।

ताजा समाचार