न्यायको खोजीमा भौतारिएकी १८ वर्षिया किशोरीको कथा

शारिरिक सम्बध राखेर प्रहरी जवान सम्पर्कविहिन

महेन्द्रनगर । बुधबार राष्ट्रिय महिला आयोगले कञ्चनपुरको महेन्द्रनगरमा समाजका विद्यमान हानिकारक अभ्यासहरु बाल विवाह,बहुविवाह दाइजो प्रथा,बोक्सीको आरोप आदि विरुद्ध सुदूरपश्चिम केन्द्रित अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य जया घिमिरे र विभिन्न सरकारी,गैरसरकारी संघ संस्थाका प्रतिनिधि तथा विभिन्न राजनैतिक दलका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम महिला हिंसा र रोकथामका उपाय बारे छलफल केन्द्रित थियो ।

छलफलकै क्रममा उपस्थितलाई आफ्ना सुझाव सल्लाह राख्न समय दिइयो । सोही क्रममा जिल्लाको भीमदत्त नगरपालिका–७ की १८ वर्षिया गरिमा धामी (नाम परिवर्तन)ले रुदैँ आफ्ना पिडा महिला आयोगका अगाडी पोखिन् । उनले रुदैँ कार्यक्रममा भनिन् ‘की मलाई न्याय दिनु नत्र फासीमा झुन्ड्याई दिनु ।’

वि.सं. २०७७ साल भदौँ महिनामा गरिमाले आफ्नो दिदिलाई लगाएको फोन नम्बर गलत भएर सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान डम्मर दियालको पर्छ । ‘गत वर्ष मैले मेरो दिदिलाई फोन गर्न खोज्दा डम्मर दियालकोमा गयो ।’ धामीले भनिन् ‘मैले गलत नम्बर प¥यो भनेर फोन काटिदिए । त्यसपछि उहाँले मेरो नम्बरमा दिनहु फोन गर्न थाल्नु भयो । एकदिन उहाँले मलाई शिवमन्दिर नजिक भेट्न बोलाउनु भयो र त्यहाँ उहाँले म बैँकमा काम गर्छु तिमि मलाई मन पर्छौ, म तिमि संग विवाह गर्छु भनेर भन्नु भयो ।’

विवाह गर्छु भनेपछि आफुले विश्वास गरेको उनले बताइन् । ‘बैंकमा काम गर्छु भनेर फसायो, मलाई त पछि मात्र थाहा भयो प्रहरी हो भनेर ।’ उनकाअनुसार २०७७ मंसिरमा दियालले आफ्नो घर देखाउछु भनेर कञ्चनपुरको सिसैयास्थित आफ्नो घरमा लगेर जबरजस्ति शारिरिक सम्बन्ध राख्यो । त्यसपछि दियाल सम्पर्क विहिन भए । शारिरिक सम्बन्ध राखेर सम्पर्कविहिन भएपछि धामीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरिन् ।

‘म संग सम्बन्ध राखेर सम्पर्क विहिन भएपछि मैले प्रहरीमा उजुरी हाले । त्यसपछि प्रहरीले उहाँलाई कार्यालयमा बोलायो र दियालले त्यहाँ म विवाह गर्छु भन्नु भयो ।’ धामीले भनिन् ‘त्यसपछि माघ ९ गते उहाँले मलाई आफ्नै हात काटेर सिन्दुरपनि हाल्दिनु भयो ।’ उनले अगाडी थपिन् ‘त्यसपछि उहाँले मलाई आफ्नो डडेल्धुरा पहाड घर लगेर जानु भयो । तर त्यहाँ उहाँको आमाले उहाँ र मलाई अलग–अलग कोठमा सुत्न लगाउनु भयो ।’

दियाल र उनको परिवारले आफुलाई निरन्तर कुटपिट,गालीगलौज गर्ने गरेको उनले बताइन । ‘मलाई उहाँहरुले राम्रो व्यवहार गर्नु हुन्थ्योन । मेरा ससुराले पनि म सुतेको कोठामा आएर म माथी हातपात गर्नु हुन्थ्यो ।’ उनले भनिन् ‘त्यसपछि डडेल्धुराबाट मेरो परिक्षा दिन भनेर म हल्दुखाल आए । त्यसपछि दियाल मेरो माइती घरमा आएर हामीले टिका–टालो पनि लगायौँ । र पुस्पलाल चोकमा कोठा खोजेर त्यहाँ बस्न थाल्यौँ ।’

उनले अगाडी थपिन् ‘त्यसपछि साउँन ११ गते उहाँले मेरो ९ दिनको तालिम छ भनेर मलाई कोठामा छोडेर जानु भयो । र त्यो दिन देखी मेरो फोन पनि उठाउनु भयोन र अहिले फेशबुक,फोन सबैबाट मलाई ब्लक गरेर सम्पर्क विहिन हुनु भएको छ ।’ हाल दियालको परिवारले आफुलाई विभिन्न प्रलोभन र धम्की दिने गरेको उनले बताइन् । ‘दियालको दाईले मुद्धा फिर्ता लग तिमिलाई म ५० हजार रुपैया दिन्छु भन्नु हुन्छ र उहाँको मम्मीले त जे गर्छै गर सिसैयोको घर बेचेर भएपनि मुद्धा लड्छु भनेर धम्की दिनु हुन्छ ।’

आफुलाई अहिले समाजमा बाच्नै गाह्रो भएको उनले बताइन् । यता सुदूरपश्चिम प्रदेश दंगा नियन्त्रण प्रहरी गण महेन्द्रनगरका प्रमुख एव्म प्रहरी निरीक्षक दिपेन्द्र कुमार पालले प्रहरी जवान दियाल कार्यालयमा हाजिरी नभएको ६/७ महिना भइसकेको बताए ।

‘प्रहरी जवान डम्मर दियाल कार्यालयमा हाजिर नभएको ६/७ महिना भइसक्यो ।’ प्रहरी निरिक्षक पालले भने ‘४५ दिन सम्म कार्यालयको सम्पर्कमा नआएपछि जागिर खाली हुने प्रावधान भएकोले उनको जागिर समेत खारेज भइसकेको छ ।’

यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले दियालको खोजी कार्य भइरहेको बताए । ‘उनको नाममा गत कात्तिक महिना तिर जबरजस्तिकरणीको मुद्धा दर्ता भएको छ ।’ उनले भने ‘र अहिले उनको खोजी कार्य भइरहेको छ ।’

महिला मानव अधिकारकर्मी नारु सिंहले धामी एक प्रतिनिधि पात्र मात्र भएको यस्ता धेरै किशोरीले न्याय पाउन नसकेको बताइन् । ‘धामी एउटा पात्रमात्र हुन् । उनिजस्ता थुप्रा बहिनीले न्याय पाउन सक्नु भएको छैन ।’ उनले भनिन् ‘तत्काल प्रहरी प्रशासनलाई धामीले न्याय पाउन भन्ने आग्रह माग गर्न चाहन्छौँ ।’

ताजा समाचार