काठमाडौँ । सङ्घीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबिच आपसी समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई अझ सुदृढ बनाउने उद्देश्यले सुदूरपश्चिमको टीकापुरमा उच्चस्तरीय अन्तर–व्यवस्थापिका सम्मेलन सुरु हुँदैछ। शनिबार बिहान आयोजना हुने विशेष समारोहबिच प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले गर्नुहुनेछ।
उद्घाटन समारोहलाई सभामुख अर्याल, अध्यक्ष दाहाल तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्बोधन गर्ने कार्यतालिका छ। जेठ २३ र २४ गते दुई दिनसम्म सञ्चालन हुने उक्त राष्ट्रिय सम्मेलनमा सहभागी हुन सभामुख अर्याल, अध्यक्ष दाहाल, उपसभामुख रूबी कुमारी र राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीसहित सङ्घीय संसद्का विशिष्ट पदाधिकारीहरू सुदूरपश्चिम आइपुग्नुभएको सचिवालयले जनाएको छ।
विविध विषयमा कार्यपत्र प्रस्तुत हुने
शनिबार मध्याह्नपछि सुरु हुने बन्द सत्रमा संसदीय प्रणाली र कानुन निर्माणसँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण विषयहरूमा कार्यपत्र प्रस्तुत गरिनेछ। जसमा सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले ‘लेजिस्लेटिभ एकेडेमी’ र ‘संसदीय अनुगमन कार्यमा एकरूपता’ विषयमा प्रस्तुति दिनुहुनेछ। यस्तै, सूचना प्रविधि विज्ञ विनित सत्यालले ‘डिजिटल पार्लियामेन्ट’, संविधानसभा सदस्य खिमलाल देवकोटाले ‘कानुन निर्माण प्रक्रियामा सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वय’ तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले ‘आदर्श बजेट निर्माण प्रक्रिया’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने तय भएको छ। सम्मेलनका क्रममा सङ्घीयता कार्यान्वयनको समीक्षा, सभा सञ्चालनका असल अभ्यास र आगामी कार्यदिशाबारे गहन छलफल हुनेछ।
‘टीकापुर घोषणापत्र’ जारी गरिने
सम्मेलनको दोस्रो दिन आइतबार सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले साझा निष्कर्षका रूपमा ‘टीकापुर घोषणापत्र’को मस्यौदा प्रस्तुत गर्नुहुनेछ, जसलाई व्यापक छलफलपछि सर्वसम्मतिले पारित गरिनेछ। यस ऐतिहासिक सम्मेलनमा सङ्घीय संसद्का दुवै सदन तथा सातवटै प्रदेश सभाका सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष, प्रमुख सचेतक, विषयगत समितिका सभापति र सचिवहरूको महत्वपूर्ण सहभागिता रहनेछ।



