खल्लामा विपद्जोखिम न्यूनिकरणका लागि कृत्रिम घटना अभ्यास तालिम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामा विपद् जोखिम न्यूनिकरणका लागि सुरक्षाकर्मी तथा स्थानियलाई विपद्संग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिम दिइएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयको आयोजनामा एनएनएस डब्लु ए,नेपाल रेडक्रस,निड्स नेपालको सहयोगमा नेपाली सेना,नेपाल प्रहरी र ससस्त्र प्रहरीले सुरक्षाकर्मी तथा स्थानिय नागरिकलाई विपद्जोखिम न्यूनिकरणका लागि कृत्रिम घटना तथा तालिम दिइएको हो ।

बाढी पहिरो, आगजनी लगायतका प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य सम्बन्धी नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्थानियलाई अभ्यास गराइएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले बताए ।

‘गत कात्तिकमा महाकाली नदिमा आएको बेमौसमी बाढीले खल्लामुसेट्टी क्षेत्रमा धेरै क्षति भएको थियो ।’ सिडिओ पाण्डेले भने ‘त्यही कुरालाई मध्यनजर गर्दै आज नेपाली सेना,नेपाल प्रहरी,ससस्त्र प्रहरी र स्थानिय नागरिकलाई विपद्संग सम्बन्धित कृत्रिम घटना अभ्यास तथा तालिम दिइएको हो ।’

उक्त अभ्यास तथा तालिमबाट आफुहरुले बाढीपहिरो,आगजनी भएमा कसरी बच्ने,विपद् जोखिम न्यूनिकरणका लागि के गर्ने,घाइतेलाई कसरी उद्धार गर्ने लगाएतका धेरै कुरा सिकेको स्थानिय भीम सुनारले बताए ।

सो कार्यक्रममा विभिन्न सरकारी गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि,पत्रकार लगाएत स्थानियको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा समाचार