स्थानिय तह निर्वाचनः भीमदत्तमा काँग्रेसले थाल्यो घरदैलो अभियान,यस्तो भन्छन नेताहरु

महेन्द्रनगर । आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनलाई मध्यनजर गर्दै भीमदत्तमा नेपाली काँग्रेसले घरदैलो अभियान शुरु गरेको छ । विहिबार भीमदत्त नगरपालिका–१ रौटेला स्थित बैजनाथ मन्दिरको दर्शन गरेर भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटी,उपमेयर पदका उम्मेद्धवार निलम लेखक जोशी लगाएतले घरदैलो अभियान शुरु गरेका हुन् ।

घरदैलो अभियानमा उम्मेद्धवारहरुले जनताका समस्या,अवस्था,अपेक्षा,आवश्यकता संकलन र जनतामाझ आफ्ना एजेण्डा राख्ने गरेको नेपाली काँग्रेस कञ्चनपुरका सचिव भीमराज भट्टले बताए । घरदैलो अभियानमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखक,यज्ञराज जोशी,भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार एव्म जिल्ला पार्टी सभापति पदम बोगटी,उपमेयर पदका उम्मेद्धवार निलम लेखक, भीनपा–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु) लगाएतका उम्मेद्धवार र नेताहरु सहभागि थिए । विहिबार उम्मेद्धवारहरुले भीमदत्त नगरपालिका–५ मा पनि घरदैलो गरेका छन् ।

काँग्रेसले हावा गफ दिएर भोट माग्दैनः केन्द्रिय सदस्य लेखक

Open photo

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले नेपाली काँग्रेसले हावा आश्वासन,गफ दिएर भोट नमाग्ने बताएका छन् । विहिबार भीनपा–१ मा घरदैलो अभियानमा नेता लेखकले त्यसो भनेका हुन् । ‘नेपाली काँग्रेस केपी ओली,कम्युनिष्ट जस्तो हावा आश्वासन,गफ दिएर जनतासंग भोट माग्दैन ।’ उनले भने ‘ ओली कमरेडले भन्नुहुन्थ्यो घरघरमा ग्यास पाइप पु¥याउछौँ,पानी जहाज ल्याउछौँ,चाइनाबाट रेल ल्याउछौँ भनेर, खै ? कहाँ छन् रेल,पानीजहाज,ग्यास पाइप ।’ उनले अगाडी थपे ‘ त्यसैले काँग्रेस काम गर्छ । र काम गरेको आधारमा मात्र भोट माग्छ ।’ त्यस्तै उनले भीमदत्तमा काँग्रेसको सरकार आएपछि भीमदत्त नगरपालिका–१ स्थित बैजनाथ मन्दिर,मणिदिप,बाह्कुण्डाको आवश्यक व्यवस्थापन र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने स्थानिय संग प्रतिवद्धता जनाए ।

यस्तै राजिपुरका भूमिहिन,सुकुम्वासीलाई आवश्यक व्यवस्था तथा जग्गा उपलब्ध गराउने बताए । यस्तै कार्यक्रममा आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा टिकट नपाएका,पार्टीबाट अन्यायमा परेका नेता कार्यकर्तालाई निर्वाचन पछि सबैको मुल्याङकन हुने नेता लेखकले बताए । ‘ धेरै साथीहरु विभिन्न पदका लागि आकांक्षी हुनुहुन्थ्यो ।’ उनले भने ‘ केही साथीहरुमाथी अन्याय पनि भएको छ । त्यसको मुल्याङकन निर्वाचनपछि पार्टीले गर्नेछ । त्यसैले अहिले नेपाली काँग्रेसलाई जिताउन सबै लाग्नुहोस् ।’

काँग्रेस जित्यो भने विकास जित्छः मेयर पदका उम्मेद्धवार बोगटी

नेपाली काँग्रेसबाट भीमदत्त नगरपालिकामा मेयर पदका उम्मेद्धवार तथा नेपाली काँग्रेस कञ्चनपुरका सभापती पदम बोगटीले काँग्रेस जित्यो भने विकास जित्ने बताएका छन् । विहिबार भीमदत्त नगरपालिका–१ स्थित चुनावी घरदैलो कार्यम्रममा नेता बोगटीले त्यसो भनेका हुन् । ‘२०७४ सालमा यहाँ (भीमदत्त नगरपालिका–१) मा काँग्रेसलाई जिताउँदा यहाँ विकास भएको छ ।’ उनले भने ‘अन्य वडा र यस वडाको विकास हेरेपछि पनि थाहा हुन्छ काँग्रेसले के गर्छ ? भनेर ।’ उनले अगाडी थपे ‘काँग्रेसले जित्यो भने विकासले जित्छ र कम्युनिष्टले जित्यो भने विकास हार्छ ।’ उनकाअनुसार कम्युनिष्टहरुलाई आफ्नो दुनो कसरी सोझाउने भन्ने चिन्ता मात्र हुन्छ । जनताको चिन्ता हुदैन । भीमदत्त नगरपालिकामा काँग्रेसलाई प्रवेश गराएपछि आफुहरु यहाँको विकास,समृद्धि र जताका आवश्यकता पुरा गर्ने नेता बोगटीले प्रतिवद्धता जनाए । २०७४ सालको स्थानिय निर्वाचनमा नेता बोगटी झिनो मतले एमालेका उम्मेद्धवार सुरेन्द्र विष्टसंग पराजित भएका थिए ।

भीमदत्तमा भएको भष्ट्राचारको छानविन गर्छौ ः उप–मेयर पदका उम्मेद्धवार लेखक

Open photo

नेपाली काँग्रेसका तर्फबाट भीमदत्त नगरपालिकाको उप–मेयर पदका उम्मेद्धवार निलम लेखक जोशीले आफुहरु निर्वाचित भए गएको ५ वर्षमा भीमदत्तमा भएको भष्ट्राचारको छानविन गर्ने बताइन् । ‘भीमदत्त नगरपालिकामा गएको ५ वर्षमा थुप्रो भष्ट्राचार भएको कुराहरु आइरहेका छन् ।’ घरदैलो कार्यक्रमा उनले भनिन् ‘यदि हामी निर्वाचित भएपछि पहिला त गएको ५ वर्षमा नगरपालिकामा भएको भष्ट्रचार र अन्य गलत कामको छानविन गर्छौ ।’

अहिले भीमदत्तको कुर्सी गन्हाएको छः केन्द्रिय सदस्य जोशी

Open photo

नेपाली काँग्रेसका केन्द्रिय सदस्य यग्यराज जोशीले भीमदत्त नगरपालिकामा धेरै भष्ट्रचार भएको आरोप लगाएका छन् । ‘५ वर्षमा भीमदत्तमा कती भष्ट्रचार भएको छ सबै नगरवासीलाई थाहाँ छ ।’ उनले भने ‘ भष्ट्रचारले नगरपालिकाको कुर्सी गन्हाएको छ । हामी त्यसलाई फाल्छौ ।’ त्यस्तै उनले कम्युनिष्टहरु आफ्ना कार्यकर्ता,आफन्तहरुका लागि मात्र काम गर्ने गरेको उनले बताए । ‘कम्युनिष्टहरु आफ्ना कार्यकर्ता,आफन्तहरुका लागि मात्र काम गर्छन ।’ उनले भने ‘सबै जनताको लागि गर्दैनन् ।’

एमालेबाट वडा सदस्यका उम्मेद्धवार धामी सहित १० जना नेपाली काँग्रेस प्रवेश

Open photo

नेकपा एमालेबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडा सदस्यका उम्मेद्धवार कम्मन धामी एमाले परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । विहिबार भीनपा–१ मा नेपाली काँग्रेसको घरदैलो कार्यक्रममा धामी सहित १० जना नेपाली काँग्रेस प्रवेश गरेका हुन् । उनिहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य रमेश लेखक लगाएतका नेताले टिका लगाएर पार्टी प्रवेश गराएका नेपाली काँग्रेस भीमदत्त नगर सभापति अच्युतराज कलौनीले बताए । उनकाअनुसार प्रवेश गर्नेमध्ये ८ जना एमाले र २ जना माओवादीका नेता कार्यकर्ता हुन् ।

पुनः आफ्नो पारिश्रमिक नलिने वडाध्यक्ष पदका उम्मेद्धवार भुन्टुको प्रतिवद्धता

नेपाली काँग्रेसका तर्फबाट भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष पदका उम्मेद्धवार आसेफ कुवँर (भुन्टु)ले आफुले चुनाव जितेपछि पुनः पारिश्रमिक नलिने प्रतिवद्धता जनाएका छन् । विहिबार घरदैलो कार्यक्रमा उनले स्थानिय संग त्यसो भनेका हुन् । कुवँर २०७४ सालको स्थानिय तह निर्वाचनमा भीनपा–१ को वडाध्यक्षमा निर्वाचित भएका थिए । उनि पुनः नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा उठेका छन् । निवर्तमान वडाध्यक्ष समेत रहेका कुवँरले २०७४ को स्थानीय चुनावमा पनि आफ्नो तलब भत्ता नलिने र आफ्नो तलब भत्ता वडाका गरिब, असहाय, अपाङ्ग, विपन्न र बृद्धबृद्धाहरुलाई वितरण गर्ने घोषणा गरेका थिए । कुवँरले प्रतिवद्धता अनरुपनै आफ्नो पारिश्रमिक वडाको विकास र गरिब, असहाय, अपाङ्ग, विपन्न र बृद्धबृद्धाहरुलाई वितरण गरेका थिए । यो संगै नेता कुवँरले वडमा भौतिक,पर्यटन,साँस्कृतिक लगाएतका क्षेत्रमापनि थुप्रो विकास गरेका स्थानियले बताएका छन् । ‘मैले गएको ५ वर्षमा जानी नजानी केही गलत गरेको छु भने मलाई माफ गरिदिनु होला ।’ घरदैलो कार्यक्रममा उनले भने ‘म फेरी वडाध्यक्षमा उठेको छु र म पुनः मैले पाउने सेवा सुविधा केही लिने छैन ।’ उनले अगाडी थपे ‘मैले पाउने सेवा सुविधा वा मेरो पारिश्रमिक यहाँका विपन्न,असहाय,अपाङग,वृद्धवृद्धाहरुलाई वितरण गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’

ताजा समाचार