वित्तीय क्षेत्रको कर्जा आयात प्रतिस्थापनतर्फ केन्द्रीत हुनुपर्छ : अर्थमन्त्री शर्मा

महेन्द्रनगर । अर्थमन्त्री जनार्दन शर्माले वित्तीय क्षेत्रको कर्जा आयात प्रतिस्थापनतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन् ।

उनले बजेटले लिएको मुख्य लक्ष्य आन्तरिक उत्पादन बढाउँदै आयात प्रतिस्थापन गर्न वित्तीय क्षेत्रको कर्जा त्यसतर्फ केन्द्रित हुनुपर्नेमा रहेको भन्दै त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

अर्थमन्त्री शर्माले बिहीबार मुलुकको आर्थिक अवस्था, बैंकको ब्याजदर र वित्तीय लागत न्यूनीकरण लगायतका विषयमा प्राप्त सुझाव कार्यान्वयनका सम्बन्धमा विभिन्न सरोकारवालासँग छलफलमा उक्त कुरा बताएका हुन् ।

शर्माले निर्वाचनको पूर्वसन्ध्यामा मुलुक र अर्थतन्त्रका सन्दर्भमा कसैले पनि राजनीतिकरण नगर्न आग्रह गरेको छन् ।

छलफलमा अर्थमन्त्री शर्माले पछिल्लो समय अर्थतन्त्रमा परेको दबावलाई सबै मिलेर समाधान गर्नुपर्ने बताए । ‘अर्थतन्त्रमा परेको चापलाई समाधान गर्न सबै मिलेर उपाय खोज्नुपर्छ,’ उनले भने,

‘एकले अर्कोलाई नमान्ने र मेरो मात्र ठिक कुरा हो भनेर जानु हुँदैन ।त्यसो गरे झन् अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ ।’उनले निजी क्षेत्र, सरकार र अन्य सरोकारवाला सबै मिलेर मात्र समस्याको समाधान गर्न सकिनेमा जोड दिए ।

मन्त्री शर्माले निजी क्षेत्रले उठाएका सवालमा सरकार गम्भीर भएको र सरकारले अभिभावकीय भूमिका निर्वाह गर्ने बताए । ‘निजी क्षेत्र अर्थतन्त्रको हिस्सेदारी हो ।

यसलाई अलग गर्न मिल्दैन’ उनले भने । तरलता र वित्तीय लागत न्यूनिकरण लगायतका विषयमा अध्ययन गर्न बनेको सुझाव समितिले दिएका सुझावहरूलाई सबैले ग्रहण गरेर अघि बढ्नुपर्ने उनले बताए ।

कतिपय सुधारका कुरा गर्नैपर्ने परिस्थिति भएको र त्यसलाई सुधार नगरिए बजेट कार्यान्वयनमै असर पर्ने भन्दै उनले सबैलाई गम्भीर हुन आग्रह गरे ।

ताजा समाचार