कांग्रेस नेता बोहराले सामान कब्जा गरे, सटरमा लगाए ताला


महेन्द्रनगर। कञ्चनपुर भीमदत्त नगरपालिका–४ का निवर्तमान वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता लक्ष्मी बोहराले एक जना व्यापारीका सामान कब्जा गरेका छन्। २०७१ सालदेखि तत्कालिन महेन्द्रनगर विकास समितिको सटरमा व्यापार गरिरहेका हरिश भट्टको पसलमा भएका सामान बोहराले कब्जा गरेका हुन्।

बोहराले पसलको ताला फुटाएर सामान कब्जा गरेको हरिश भट्टका भाई जनकराज भट्टले बताए। ‘दाजु दुर्घटाना परेर उपचारको क्रममा जिल्ला बाहिर थिए,’ उनले भने, ‘त्यसैको फाइदा उठाएर बोहराले पसलमा भएका सामान सबै लिनुभयो, यसमा वडा नं। ४ का वडा अध्यक्ष शुशिल भट्टको समेत मिलोमतो छ।’

२०७१ सालमा हरिशले शेरबहादुर धानुकबाट ७ लाखमा सटर किनेका थिए। ‘खुल्ला मञ्चको अगाडी रहेको एउटा सटर शेरबहादुर धानुकबाट ७ लाखमा किनेका थियौं, त्यहाँ अहिलेसम्म व्यापार गरिरहेका थियौं,’ उनले भने, ‘साउनमा दाजु दुघर्टनामा पर्नुभयो, त्यसपछि पसल बन्दभयो।’

वडा नम्बर ४ को कार्यालयबाट सूचना टाँस गराएर बोहराले सटरमा लगाइएको ताला फुटाएर सामान कब्जा गरेको उनको भनाई छ।

‘लामो समयदेखि भाडा नदिएकाले सटर हटाउनु भन्दै वडा कार्यालयले सूचना जारी गरेको छ, हामीले भाडा तिरेकै थियौं, मासिक ६ हजार बोहरालाई बुझाउँथ्यौं,’ उनले भने, ‘सटर अरुलाई बेच्नका लागि बोहराले वडाबाट झुटो सूचना जारी गर्न लगायो।’

यस विषयमा बोहरासँग कुरा गर्न ९८४८७२०२९२ नम्बरमा सम्पर्क गरेपनि उनको मोबाइल बन्द छ। पीडित पक्षले न्यायको माग गर्दै कञ्चनपुर उद्योग बाणिज्य संघमा समेत निवेदन दिएका छन्।

ताजा समाचार