कञ्चनपुरमा चुनावको तयारी तीव्र,मतपत्रलगायत निर्वाचन सामग्री पुगे

महेन्द्रनगर। कञ्चनपुरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि तयारी तीव्र पारिएको छ। जिल्लाका तीनवटै निर्वाचन क्षेत्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले जानकारी दिए।

“जिल्ला निर्वाचन कार्यालयका कर्मचारी निर्वाचन सामग्री व्यवस्थापनमा व्यस्त छन्। मतपत्र र अन्य निर्वाचन सामग्री पुगिसकेका छन्, प्रत्येक निर्वाचन क्षेत्रमा मतदाताभन्दा बढी मतपत्र आएका छन्,” उनले भने।

प्रतिनिधिसभाका लागि तीन वटा निर्वाचन क्षेत्र रहेको जिल्लाको क्षेत्र नं १ मा ९१ हजार एक सय १०, २ मा एक लाख पाँच हजार पाँच सय ७७ र ३ मा ९७ हजार आठ सय २२ मतदाता छन्।

मतपत्र व्यवस्थापनसँगै कर्मचारी खटाउने काम भइरहेको मुख्य निर्वाचन अधिकृत शाहले बताए। कञ्चनपुरमा एक सय ३२ मतदानस्थल र तीन सय ४६ मतदान केन्द्र रहेका छन्।

एक मतदान केन्द्रमा आठ जनाका दरले दुई हजार सात सय ६८ कर्मचारी छनोट भइसकेको जिल्ला निर्वाचन अधिकारी उदयराज जोशीले बताए।

“कर्मचारीलाई तालिम दिइरहेका छौँ, तालिमपश्चात् निर्वाचन सामग्री र मतपत्र दिएर उनीहरुलाई मतदानस्थल पठाइनेछ”, उनले भने। कारागारका कैदीबन्दी र कर्मचारीका लागि जिल्ला कारागार र भीमदत्त नगरपालिकामा दुई वटा अस्थायी मतदान केन्द्र राखिएका छन्।

ताजा समाचार