धर्मराज जोशी जो प्रदेश खारेजको एजेण्डा बोकेर प्रदेश सभा सदस्य नै हुने दौडमा छन्

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ बाट राप्रपाका उम्मेद्धवार धर्मराज जोशी संबैधानिक राजसंस्था र प्रदेश खारेजी लगाएतका एजेण्डा सहित आफ्नो पक्षमा मत मागिरहेका छन् । हुन त यति बेला अन्य दल तथा स्वतन्त्र उम्मेद्धवारहरुपनि आफ्नो पक्षमा मत माग्न लागिपरेका छन् ।

यद्यपी राप्रपाका उम्मेद्धवार जोशीको एजेण्डा र उम्मेवारीमाथी भने चिया पसल देखी सामाजिक सञ्जालमा प्रश्न उठिरहेका छन् । जोशीले प्रदेश खारेजीको एजेण्डा लिएर, प्रदेश सभा सदस्यका लागि मत किन मागिरहेका छन् ? भनेर प्रश्न उठिरहेका छ ।

‘राप्रपाका उम्मेद्धवार धर्मराज जोशी ज्यू आफु प्रदेश सभा सदस्य पदका लागि चुनाव लडिरहनुभएको छ ।’ भीमदत्त नगरपालिका – १० कि अनिता पन्तले भने ‘तर प्रदेश, संघियता खारेजीको एजेण्डा लिएर जनतासंग मत समेत मागिरहनु भएको छ ।’ उनले अगाडी भने ‘अब उहाँलाई कसरी विश्वास गर्ने ? प्रदेश खारेज पनि भनिरहनु भएको छ, फेरी त्यही प्रदेश सभा सदस्यका लागि लडिरहनु पनि भएको छ ।’

अन्य दलका उम्मेद्धवारहरुले पनि जोशीको उम्मेद्धवारीमाथी सोही प्रश्न गरिरहेका छन् । केही दिनअघि निर्वाचन क्षेत्र नं. ३ का प्रदेश सभा सदस्यका उम्मेद्धवारहरुको प्राइम टेलिभिजनले महेन्द्रनगर पुगेर एकै साथ लिएको अन्तर्वातामा पनि स्थानियले जोशीलाई प्रदेश खारेजीको एजेण्डा लिएर,फेरी प्रदेश सभा सदस्यका लागि नै किन मत मागिरहनु भएको छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा जोशीले ‘हो राप्रपाको एजेण्डा प्रदेश खारजी हो तर जब सम्म प्रदेश खारेजी हुदैँन तब सम्म हामी प्रदेश सभा सदस्यमा भाग लिन्छौ।’ यतिमात्र होइन जोशीलाई पदकालागि मात्र चुनाव लडिरहेको आरोप लागिरहेको छ । ‘उहाँ (धर्मराज जोशी) पदका लागि मात्र चुनाव लडिरहनु भएको छ ।’ भीमदत्त ०१ का एक स्थानीयले भने ‘यदि उहाँ यहाँको विकासका लागि चुनाव लडिरहनु भएको भए जुन व्यवस्थामा उहाँ निर्वाचन लड्दै हुनुहुन्छ त्यही व्यवस्था खारेजीको एजेण्डा किन बोक्नु भएको छ ?’ प्रश्न गर्दै उनले अगाडी भने ‘उहाँ निर्वाचित भएपछि प्रदेश खारेजीमा लाग्नु हुन्छ की जनताको विकास गर्नु हुन्छ । कसरी विश्वास गर्ने ?’

ताजा समाचार