कञ्चनपुर–२ मा लोकतान्त्रिक–वाम गठबन्धनको विजयी जुलुस (फोटामा हेर्नुस्)

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता लोकतान्त्रिक–वाम गठबन्धन साझा उम्मेद्धवार एनपी साउँद कञ्चनपुर निर्वाचन क्षेत्र नं.–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नरबहादुर धामीलाई ६ हजार ४५५ मतले पराजित गरेका हुन । क्षेत्र नम्बर २ को निर्वाचन अधिकृत कार्यालयका अनुसार साउदले २८ हजार १ सय मत ल्याउँदा धामीको २१ हजार ६४५ मत पाएका छन् । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका झंकरराज जोशी ४ हजार ९३१ मतसहित तेस्रो भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नम्बर २ मा १ लाख ५ हजार ५७७ मतदाता छन् । जसमध्ये ६४ हजार ७५२ मत खसेको थियो । खसेको मतमध्ये ५९ हजार ८३२ सदर र ४ हजार ९२० मत बदर भएको कार्यालयले जनाएको छ ।

साउद २०७४ को निर्वाचनमा धामीसँगै पराजित भएका थिए । उक्त निर्वाचनमा उनले २४ हजार ८९३ मत ल्याउँदा धामी ३३ हजार २०२ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

यस्तै कञ्चनपुर क्षेत्र –२ को प्रदेशसभाका दुवै सिटमा समेत सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा–१ मा माओवादी केन्द्रका ओमबिक्रम भाट (सरल) र प्रदेशसभा (२) मा नेपाली कांग्रेसका बहादुरसिंह थापा विजयी भएका हुन् ।

प्रदेशसभा–१ मा भाट प्रतिद्धन्द्धी नेकपा एमालेका वचनबहादुर सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।उनले १० हजार ९२५ मत पाउँदा सिंहले १० हजार ४५० मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ४७५ छ । थापाले एमालेका कृपाराम रानालाई १ हजार ७२६ मतले हराउदै निर्वाचित भएका हुन् ।

थापाले १० हजार ६६८ मत ल्याउँदा रानाले ८ हजार ९४२ मात्रै मत पाए । कञ्चनपुर–२ मा प्रतिनिधि र प्रदेशसभा सदस्यमा विजयी हासिल गरेको लोकतान्त्रिक–वाम गठबन्धनले विजयी जुलुस निकालेको छ । झलारी स्थित कालिका मावि(मतगणना स्थल) बाट झलारी बजार हुदैँ बनसमिति बजार सम्म विजयी जुलुस निकालिएको थियो ।

उक्त विजयी ¥यालीमा निर्वाचित जनप्रतिनिधि सहित नेपाली काँग्रेस,नेकपा माओवादीका नेता कार्यकर्ता लगाएतको उपस्थिति रहेको थियो ।

ताजा समाचार