धनगढीमा बिद्यार्थीको निरन्तर आन्दोलन

महेन्द्रनगर । धनगढीमा निषेधाज्ञा तोडेर आज पनि विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् । जिल्ला प्रशासन कार्यालय कैलाली बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

प्रशासनले २४ घण्टाका लागि धनगढीलाई निषेधित क्षेत्र घोषणा गरेको भएपनि विद्यार्थीहरुले भने शुक्रबार बिहानैबाट आन्दोलन गरिरहेका हुन् । प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१पुष्पलाल चोक, पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् ।

हिजो धनगढीमा ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएको थियो । धनगढी–५ तारानगरकी साउँदको हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो ।

उनको मृत्युपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। उनीहरुले सडकमा टायर जलाउँदै प्रदर्शन गरेका थिए । आन्दोलकै क्रममा केही विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा समाचार