काठमाडौं ठाउँका सुकुम्बासीलाई अहिले नहटाउने भूमि आयोगको भनाई

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ।

‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न/नगराउन यो सूचना प्रकाशित गरिएको छ,’ आयोगको ताहाचल कार्यालयले जारी गरेको सूचनामा भनिएको छ।

आयोगले सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागु नहुने सूचना जारी गरेलगत्तै गरिने पनि बताएको छ।

आयोगले भदौ ३१ देखि भूमिहीनका लगत संकलनलगायत काम रोकेको थियो। आचारसंहिता लागु नहुने सूचना निर्वाचन आयोगले जारी गरेपछि भूमि आयोगले आफ्ना कामलाई निरन्तरता दिने पनि बताएको छ।

ताजा समाचार