कैलाली बहुमुखी क्याम्पसलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

महेन्द्रनगर । निर्वाचन आयोगले निर्वाचन आचार संहिता लागेको बेलामा शिक्षकहरुलाई करारमा नियुक्त गरेको भन्दै कैलाली बहुमुखी क्याम्पससँग स्पष्टीकरण सोधेको छ ।

आचारसंहिता लागु भएको बेला करारमा नियुक्त गर्नाको कारण तीन दिनभित्र पेश गर्न भन्दै निर्वाचन आयोगले कैलाली बहुमुखी क्याम्पसँग स्पष्टीकरण माग गरेको हो ।

कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायले आयोगले स्पष्टीकरण सोधेको पत्र इमेल चेक नगरेकोले थाहा नभएको बताए । ‘क्याम्पस बिरुद्ध उजुरी परेको भन्ने मैले सुनेको हु ।’ क्याम्पस प्रमुख उपाध्यायले भने ‘मैले निर्वाचन आयोगको पत्र हेरिसकेको छैन । भोलि क्याम्पस गएर इमेल चेक गर्छु । अनि थाहा होला ।’

कैलाली बहुमुखी क्याम्पसले मंसिर ८ गते क्याम्पसका आंशिक शिक्षकहरु मध्य १५ जनालाई शिक्षण सहायकको रुपमा करारमा नियुक्त गर्ने निर्णय गरेको थियो । क्याम्पसले बनाएको पुरानो मेरिट लिस्ट अनुसार नछानेर मेरिट लिस्टमा पछाडी रहेका चार जनालाई पनि छनौट गरिएको थियो । यस्तो गर्दा मेरिट लिस्टमा १५ जना भित्र रहेका चार जनालाई छनौट गरिएको छैन ।

क्याम्पस प्रमुख उपाध्यायले २०६९ देखि २०७३ सम्म सेवा शुरु गरेका शिक्षकहरुलाई छनौट गरिएको बताए । ‘त्यसमध्य एक जना चाहि २०७४ मा सेवा शुरु गरेकालाई करारमा नियुक्त गरिएको हो ।’ क्याम्पस प्रमुख उपाध्यायले भने हामीले सबै प्रकृया पुरयाएर, छनौट समितिको सिफारिश अनुसार करारमा नियुक्त गर्ने शिक्षकहरुको छनौट गरिएको हो ।’

सुदुरपश्चिम बिश्वबिद्यालयले कैलाली बहुमुखी क्याम्पसलाई आंशिक शिक्षकहरु मध्य १५ जनालाई करारमा नियुक्त गर्न अनुमति दिएको थियो ।

ताजा समाचार