चिसो बढेपछि स्कुल जान छाडे मुक्त हलियाका छोराछोरीहरु

महेन्द्रनगर । मालिकार्जुन गाउँपालिका–६ कि मुक्त हलिया हिक्मती टमाटाकी ८ बर्षीया छोरी तलिसा टमटा स्थानीय सरस्वती माध्यामिक बिद्यालयमा कक्षा २ मा पढ्छिन् । तर उनी र उनका ६ वर्षका भाइ हिजोआज विद्यालय जाँदैनन् । सोही ठाउँका अर्का मुक्त हलिया रतन महरका दुई छोरा कक्षा ३ मा पढ्ने निखिल र कक्षा १ मा पढ्ने दीपक पनि विद्यालय नगएको एक हप्ता भयो ।

टमटा भाइबहिनी र महर भाइहरु रहरले वा मन नलागेर बिद्यालय नगएका भने होइनन् । बाक्लो हुस्सुसंगै बिहान ह्वात्तै चिसो बढेपछि उनीहरु बिद्यालय जान सकिरहेका छैनन् । किन स्वीटर किनिदिनु भएन त छोराछोरीलाई भन्ने प्रश्नको जवाफमा तलिसाकी आमा हिक्मतीले झर्किदै भनिन् ‘पैसा पनि हुनुपर्‍यो नि १’ उनले थपिन्, ‘जसोजसो एकसरो लुगा त पुर्‍याएकी थिएँ, तर जाडोमा लाउने बाक्लो लुगा किन्न सकिनँ ।’

विद्यालयमा गएर जाडोले कठ्यांग्रिनु भन्दा त घरमै आगो तापेर बस्छन् भन्ने सोचेर विद्यालय नपठाएको हिक्मती बताउँछिन् । हिक्मतीले जस्तै पीडा सुनाउँछन् रतन पनि ।

‘विद्यालय नपठाएर घरमै राख्ने रहर त कसलाई हुँदो हो र १’ रतन भन्छन् ‘तर के गर्नु बिहान यस्तो चिसो हुन्छ कि हामीहरुलाई समेत काम गर्न अप्ठेरो भइरहेको हुन्छ, छोराछोरीलाई बिद्यालय कसरी पठाउनु रु’ उनले बाक्लो ऊनीको लुगा भएको भए छोराहरु विद्यालय जान सक्ने सुनाए । उनी छोराहरुको पढाई बिग्रिनेमा चिन्तित देखिन्छन् ।

टमटा र महर जस्तै ४५ भन्दा धेरै बालबालिका एक सातादेखि बिद्यालय नआएका स्थानीय सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक नारायण गिरी बताउँछन् ।

‘मुक्त हलियाकै बालबालिका भनेर छुट्टै पहिचान त राखेका छैनौं तर दलित समुदायका ४५÷४६ बालबालिकाहरु एक सातादेखि विद्यालय आइरहेका छैनन्’ प्रधानाध्यापक गिरीले भने, ‘मेरो जानकारीमा भएसम्म यसमा मुक्त हलियाकै बालबालिकाहरु बढी छन् ।’

विगतका बर्षहरुभन्दा यस पटक चिसो धेरै बढेकाले बालबालिकाहरु विद्यालय आउन कठिनाइ भईरहेको प्रधानाध्यापक गिरीले जानकारी दिए । उनी अन्य समुदायका बालबालिकाभन्दा मुक्त हलियाका बालबालिकाहरु कम विद्यालय आइरहेको स्वीकार गर्छन् ।

‘चिसो त सबै बालबालिकालाई भइरहेको छ’, गिरी भन्छन् ‘अन्य समुदायका बालबालिकाहरु जाकेट, स्वीटर लाएर विद्यालय आउँछन्, तर दलित समुदायका बालबालिकाहरु आइरहेका छैनन् ।’

प्रधानाध्यापक गिरीका अनुसार केही दिनयता दिउसो १२ बजेसम्म बाक्लो हुस्सु लागिरहेको छ, त्यसैले जाडो असाध्यै छ ।

आर्थिक अभावकै कारण मुक्त हलियाहरुले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको मुक्त हलिया दानीराम तिरुवा बताउँछन् । हलिया मुक्ति आन्दोलनका पहिलो अभियन्ता समेत रहेका तिरुवा मुक्त हलियाको न्यायिक पुनस्र्थापना हुन नसक्दा यो समस्या आएको बताउँछन् ।

‘सरकारले हलिया मुक्तिको घोषणा गर्दा न्यायिक पुनस्र्थापना’ गर्ने प्रतिवद्धता गरेको थियो’ तिरुवा भन्छन् ‘न्यायिक पुनस्र्थापना भन्नेबित्तिकै मुक्त हलियाको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षा सवै प्रबन्ध मिलाउनु पर्ने हो, तर मुक्त हलियाहरुले हालसम्म टाउको लुकाउने छत समेत पाउन सकेका छैनन् ।’

चिसोका कारण मुक्त हलियाका बालबालिकाहरु विद्यालय नगइरहेको भन्ने खबर आफूहरुलाई पनि आएको बताउँछन् राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यकारी निर्देशक हरिसिं बोहरा ।

उनले भने ‘दार्चुलाको उच्च पहाडी क्षेत्रमा पर्ने मालिकार्जुन गाउँपालिकामा यस्तो समस्या देखिएको मुक्त हलियाका अगुवाहरुले जानकारी गराउनुभएको छ’ बोहराले भने, ‘हामी यस बिषयमा छलफल गरिरहेका छौं ।’ उनले लुगा नभएकै कारण बालबालिकाहरुले बिद्यालय जान नपाउनु दुःखद् भएको बताए ।

ताजा समाचार