एकसाथ चारवटा गौशाला निर्माणको तयारी, खर्च साढे २ करोड अनुमान

महेन्द्रनगर ।धनगढी उपमहानगरपालिका भित्र एकसाथ चारवटा सुविधासम्पन्न गौशाला निर्माणको तयारी थालिएको छ।

उपमहानगर भित्र सामुदायिक पशुचौपायाको दीर्घकालीन व्यवस्थापनका लागि एकसाथ चारवटा गौशाला निर्माणको प्रक्रिया सुरु गरिएको हो।

धनगढी उपमहानगरपालिकाले हरेक वर्ष गौशाला व्यवस्थापनका लागि ५० लाखका दरले बजेट विनियोजन गर्ने गरि सुविधा सम्पन्न गौशाला निर्माणको प्रक्रिया आइतबारदेखि सुरु गरेको छ। धनगढी उपमहानगरपालिका–१६ रामनगरमा गौशाला निर्माणका लागि स्कोन नेपाल नामक संस्थाले सञ्चालन गर्ने गरि निर्माण सम्झौता भएर शिलान्यास समेत गरिसकिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को रामनगरमा निर्माण हुने गौशालाको शिलान्यास धनगढीको उत्तर रामेश्वर पीठ लक्ष्मीनारयण मन्दिरका श्री १००८ स्वामी देवराज आचार्यले गरेका हुन्। उपमहानगरपालिकाभित्र हाल तीनवटा गौशाला निर्माणका लागि सम्झौता भइसकेको छ। फूलबारी क्षेत्रमा गौशाला निर्माण गर्न समिति गठन भइसकेको छ।

१३, ११ र ६ नम्बर वडाका लागि वडा नम्बर ११ मा गौशाला बनाउने प्रक्रिया थालिएको छ। यसका लागि समिति बन्न भने बाँकी छ। बाँकी तीन स्थानका लागि गौशाला निर्माण गर्न समिति बनेर तीनवटैको सम्झौता भइसकेको छ। दुईवटामा उपभोक्ता समिति गठन भइसकेको उपमहानगरले जनाएको छ।

धनगढी–७ देवहरियामा बनाउने भनिएको गौशाला निर्माणको भने सम्झौता भएको छैन्। देवहरियामा गौशला निर्माणका लागि स्थान उपयुक्त नभएको र वनस्पति कार्यालयले तारबारमा रोक लगाएका कारण उपयुक्त स्थान हेरेर गौशला निर्माण कार्य अघि बढाइने धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले बताए।

‘वैकल्पिक व्यवस्थाअनुसार यसअघि वनस्पति कार्यालयले ६ महिनाका लागि सो जमिन उपलब्ध गराएको रहेछ। सो क्षेत्रमा नयाँ भवन, तारबारदेखि चौकीदार राख्न नमिल्ने व्यवस्था भएकाले अन्त कतै उपयुक्त जमिन खोज्दैछौँ’, उनले भने। सो गौशालामा कुनैपनि भौतिक संरचना निर्माण गर्न पाइने अवस्था छैन्।

चारवटा क्षेत्रमा चारवटा गौशाला निर्माण गरेर दीर्घकालीन रुपमा सामुदायिक पशुचौपाया व्यवस्थापनको काम अघि बढेको छ। जसका लागि तीनवटा समितिसँग सम्झौता भएर दुईवटा उपभोक्ता समिति गठन भइसकेका छन्। एउटा समिति बन्नै बाँकी छ भने चौथो गौशाला निर्माण गर्न जग्गाको टुंगो नलाग्दा काम अघि बढाउन नसकिएको उपमहानगरले जनाएको छ।

ताजा समाचार