अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित

कञ्चनपुर । तराईमा दैनिक गर्मी बढ्दै गएको छ । जेठ तेस्रो साता सकिन लाग्दा पनि पानी पर्न नसक्दा गर्मी अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको हो ।

कञ्चनपुरसहित तराई क्षेत्रमा एक सातादेखि मध्याह्नपख अधिकतम तापक्रम ४० देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेको छ ।

बिहानै सूर्योदय भएसँगै साँझसम्म निकै टलक्क घाम लाग्दा अत्यधिक गर्मी भई जनजीवन प्रभावित बनेको हो । पानी नपरेर मौसम गर्मी बढ्न थालेको छ ।

चर्को घामका कारण मध्याह्नमा घर बाहिर निस्कनै मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।गर्मीले दिउँसोको समयमा बजारका सडक सुनसान हुन थालेका छन् । जसले गर्दा बजारमा व्यापार व्यवसायमा समेत प्रभाव परेको छ । सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या घटेको छ ।

जिल्लामा यसरी बढदै गईरहेको गर्मीका कारण विद्यालयहरु पनि बिहान १० बजेसम्म मात्रै संचालन गर्न जिल्ला समन्वय समितीले सूचना जारी गरेको छ ।

गर्मीका कारण विद्यालय जानुपर्ने स–साना बालबालिकासँगै वृद्धवृद्धा, अशक्त, किसान र मजदुर बढी प्रभावित भइरहेको छ ।

महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरका मेडिकल सुपरटेन्डेन्ट डा. अर्जुन भट्टका अनुसार अहिले गर्मीका कारण ज्वरो आउने, घाउ खटिरा, झाडापखाला लगायतका रोगहरु पैदा हुने गर्छन् ।

उनले भने, “गर्मीले मानिसको शरीरमा छाला आँखा, नाक मिर्गौलामा बढी प्रभाव पार्ने भएकाले गर्मीको समयमा १० बजे पछि घरबाट ननिस्कने यदि अत्ति आवश्यक काम परेर घर भन्दा बाहिर निस्कनु परेमा छाता, पानी,चस्मा माक्स लगाएर मात्र बाहिर काममा जाने, अत्यधिक मात्रामा पानी पिउने सुझाव दिएका छन् ।”

गर्मी बढेसँगै बजारमा हरेक वर्ष चिसो पेयपदार्थको माग ह्वात्तै बढ्छ र यो वर्ष झनै त्यसको मात्रा बढेको छ । अहिले गर्मी बढेसँगै बजारका होटल तथा चोक-चोकमा लस्सीका, उखुको जुस, सर्वत, बरफ, कुल्फी, आइसक्रिमको,चिसो पेय पदार्थको बिक्री वितरण समेत बढेको छ ।

ताजा समाचार