महेन्द्रनगर । नेपाल थारु संघ कञ्चनपुरको प्रथम जिल्ला र क्षेत्रीय अधिवेशन भव्य समारोहका बिच सम्पन्न भएको छ । विहिवार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउद प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी साउदले देश निर्माणको अभियानमा सबै समुदाय, जाति र क्षेत्रका नागरिकहरू एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
“देश बनाउने अभियान सामूहिक हो । थारु समुदायको योगदान इतिहासमा महत्त्वपूर्ण छ, अब यसको सम्मान गर्दै संरक्षण र प्रवर्द्धनमा हामी सबै लाग्नुपर्छ ।” उनले भने “थारु भाषा, संस्कृति, कला, पहिचान र परम्पराको संरक्षण गर्न संघले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ ।” उनले अगाडि भने “थारुहरूको मौलिकता राष्ट्रिय सम्पत्ति हो । यसलाई उजागर गर्न संघको सक्रिय भूमिका अत्यावश्यक छ । यस अभियानमा हामी सबैको सहयोग रहनेछ ।”
कार्यक्रममा अन्य वक्ताहरूले पनि थारु समुदायको हक–अधिकार, सामाजिक न्याय, र समान अवसर सुनिश्चित गर्न संघले अब योजनाबद्ध रूपमा काम गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा थारु परम्परागत सांस्कृतिक झाँकी, सम्मान तथा अनुभव आदानप्रदानका कार्यक्रमहरू पनि समावेश थिए ।
संघले आगामी दिनमा थारु समुदायको सशक्तिकरण, संरक्षण र पहिचान प्रवर्द्धनका लागि रणनीतिक योजना अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।