चिलिमे जलविद्युत् केन्द्रमा पुरिएका पाँच कर्मचारीको शव फेला, परिवारलाई हस्तान्तरण

प्रकाशित मिति:

रसुवा। भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् केन्द्रभित्र फसेका पाँचै जना कर्मचारीको शव फेला पारी परिवारजनलाई हस्तान्तरण गरिएको छ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार बुधबार अपराह्न सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा उनीहरूको शव फेला परेको थियो। मृत्यु हुनेमा इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन्। शव पहिचानपछि नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट पुर्‍याएर आफन्तलाई बुझाइएको हो।

नेपाली सेनाका बाहिनीपतिको कमान्डमा भारतीय सेना, सशस्त्र प्रहरी र प्राधिकरणका कर्मचारी उद्धारमा खटिएका थिए। बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाटका दुई वटा टर्बाइनसहितका सम्पूर्ण संरचना ध्वस्त पारेको कम्पनीले जनाएको छ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले विपद्पछिको क्षतिको यकिन विवरण सङ्कलन गर्न २५ सदस्यीय समिति गठन गरिएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रमा तुइन तथा फड्के बनाएर आवागमन सहज बनाइएको र सम्भावित हैजा तथा महामारी रोकथामका लागि आवश्यक औषधिसहित स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ।

ताजा समाचार