पार्टीभित्रका असन्तुष्टि सम्बोधन भइसक्यो, सबै मिलेर महाधिवेशन सफल पारौँ : सभापति थापा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र देखिएका असन्तुष्टि सम्बोधन भइसकेको भन्दै सबै पक्षलाई एकताबद्ध भएर महाधिवेशनमा होमिन आग्रह गरेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले नेता पूर्णबहादुर खड्काद्वारा प्रस्तुत आठ बुँदे र डा. शेखर कोइराला समूहले राखेका पाँच बुँदे माग सम्बोधन भइसकेको जानकारी दिए।

पार्टी एकताका लागि आफू जस्तोसुकै लचकता अपनाउन तयार रहेको उल्लेख गर्दै सभापति थापाले पूर्वपदाधिकारी तथा असन्तुष्ट पक्षलाई समेत अधिवेशन प्रक्रियामा सहभागी हुन आह्वान गरे। बैठकमा पूर्वसभापति शेरबहादुर देउवा समूहका प्रभावशाली नेताहरूको समेत उपस्थिति रहेको थियो।

पूर्वसभापति देउवाप्रति लक्षित गर्दै थापाले भने, “आगामी ३ र ४ गतेबाट हाम्रो वडा अधिवेशन सुरु हुँदै छ। उहाँले आएर वडा अधिवेशनको उद्घाटन गरिदिए हाम्रो लागि ठूलो सम्मानको विषय हुनेछ।” पार्टीको विधानअनुसार अब देउवा पुनः सभापति बन्ने अवस्था नरहेको स्मरण गराउँदै उनले पूर्वसभापतिलाई सम्मानजनक रूपमा बिदाइ गर्न पार्टी तयार रहेको बताए।

ताजा समाचार