महेन्द्रनगर । कञ्चनपुरमा वन डढेलो न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी दुईदिने तालिम सुरु भएको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरको आयोजनामा सुरु भएको उक्त तालिमको सोमबार भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले उद्घाटन गरेका हुन् ।
नगरप्रमुख बोगटीले उद्घाटन कार्यक्रममा बोल्दै डढेलो नियन्त्रण र न्यूनीकरणका लागि तालिम आवश्यक भएको बताए ।
‘वन डढेलोका कारण प्रत्येक वर्ष ठूलो जनधन र वनस्रोतको क्षति भइरहेको छ ।’ उनले भने, ‘यसलाई रोक्न समुदाय, सुरक्षा निकाय र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य छ ।’
उनले अगाडी भने ‘कतिपय कुराहरु थाहा नपाएर समेत आगलागी लगाएतका विपद् निम्तिरहेका हुन्छन् । त्यसैले यस्ता प्रकारका तालिमले विपद् न्यूनिकरणमा महत्वपूर्ण भूमिका रहने विश्वास लिएको छु ।’
डिभिजन वन कार्यालयका अनुसार तालिममा डढेलो नियन्त्रणका प्रविधिमूलक तरिका, जोखिम मूल्याङ्कन, प्राथमिक उपचार, समन्वय र उद्धार कार्यसम्बन्धी सत्र सञ्चालन हुनेछ ।
सहभागीहरूलाई व्यवहारिक अभ्यासमार्फत डढेलो नियन्त्रण र न्यूनीकरणका उपाय सिकाइनेछ । तालिमको उद्देश्य वन क्षेत्रमा डढेलोबाट हुने क्षति न्यूनीकरण गर्नुका साथै सरोकारवाला निकायबीच सहकार्य र सूचना आदानप्रदानलाई सशक्त बनाउनु रहेको बताइएको छ ।
तालिममा प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक, नगर प्रहरीलगायत सुरक्षाकर्मीहरु निकाय का प्रमुखहरू सहभागी थिए ।
साथै लगाएत विपद् व्यवस्थापनमा सक्रिय संघसंस्था, सरोकारवाला निकाय उल्लेखनीय उपस्थिति रहेको छ ।