महेन्द्रनगर । पर्यटन प्रवर्द्धन तथा सम्भावनाको उजागर गर्ने उद्देश्यसहित भीमदत्त नगरमा तीनदिने फारवेष्ट ट्राभल मार्ट आयोजना हुने भएको छ ।
बैशाख २६ गतेदेखि सुरु २८ गतेसम्म फारवेष्ट ट्राभल मार्ट संचालन हुने बताईएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारेमा जानकारी दिइएको हो ।
नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपालिकाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो ।
आयोजक समितिका संयोजक तथा भीमदत्त पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले सो कार्यक्रमले भीमदत्त नगर सहित सुदूरपश्चिमका विविध पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार गर्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार फारवेष्ट ट्राभल मार्टमा नेपाल र भारतका पर्यटन व्यवसायी तथा विज्ञहरूबीच व्यवसायिक छलफल (B2B मिटिङ) हुनेछ, जसमा सुदूरपश्चिमको पर्यटन अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिनेछ ।
भारतबाट पर्यटन व्यवसायी, त्यहाका पत्रकार, विज्ञहरू गरि झण्डै ५० जनाको टोली सहभागी हुनेछ । यस्तै नेपालका विभिन्न जिल्लाहरुबाट समेत पर्यटन व्यवसायी, विज्ञहरू सहभागी हुनेछन् ।
दुबै देशका पर्यटन व्यवसायी एवम् विज्ञहरूबीच यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रबारे जानकारी, पर्यटन विकास लगाएतका विषयमा जानकारी एवम् छलफल हुने भीमदत्त नगर पर्यटन विकास समितिका उपाध्यक्ष केसीले बताए ।
उनिहरुलाई शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, महाकाली र कर्णाली नदी क्षेत्रमा अवलोकन तथा र्याफ्टिङ गराइने कार्यक्रम समेत रहेको उनले बताए ।
कार्यक्रमको उद्घाटन पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्नेछन् भने भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीको अध्यक्षता रहनेछ ।
आयोजनाको व्यवस्थापन र समन्वयका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको बाताइएको छ । भीमदत्त नगरपालिकाले पर्यटन विकास तथा प्रचार प्रसारका लागि निरन्तर यस्ता प्रकारका प्रयास गरिरहेको छ ।