कञ्चनपुरमा कर्फ्यु आदेश जारी

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुर जिल्लामा भइरहेका तोडफोड, आगजनी र प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश जारी गरेको छ ।

सोमबार काठमाडौंसहित विभिन्न शहरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि आक्रोशित समूहले महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय, भीमदत्त नगरपालिकासहितका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

प्रदर्शनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेको जिल्ला कार्यालयमा समेत आक्रमण गरेका थिए भने बजारका मुख्य चोकहरूमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले परिस्थिति नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरेको थियो । परिस्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले मंगलबार बिहान ११ बजे देखि अर्को आदेश नहुँदासम्म महेन्द्रनगर बजार क्षेत्र र आसपासमा कर्फ्यु आदेश जारी गरेका हुन् ।

कर्फ्यु अन्तर्गत महेन्द्रनगर बजार तथा वरिपरिका ३ किलोमिटर क्षेत्र, पूर्व–पश्चिम राजमार्गको ३ किलोमिटर दायरा, बेलौरी, पुनर्वास, बेलडाडी, लालझाडीका पालिका केन्द्र क्षेत्रहरुमा पाँच भन्दा बढी व्यक्तिहरू भेला हुन, जुलुस, प्रदर्शन, सभा, नाराबाजी गर्न पूर्ण निषेध गरिएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले कर्फ्यु आदेश उल्लङ्घन गर्नेहरूलाई कानुन बमोजिम कडा कारबाही हुने चेतावनी समेत दिएको छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार