महेन्द्रनगर । आन्दोलित समूहले राजीनामा दिएका गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमाले नेता राजेन्द्र सिंह रावलको घरमा आगजनी गरेका छन् ।
लेखकको बेदकोट नगरपालिका–०८, गैलनदिमा रहेको घरमा जेनजीका समर्थकहरूले मंगलबार आगजनी गरेका हुन् । त्यस्तै, भीमदत्त नगरपालिका–०६, बनगाउँस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा समेत आक्रोशित समूहले तोडफोड गरी आगजनी गरेको हो ।
हिजो (सोमबार) काठमाडौंसहित देशका विभिन्न शहरमा आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि जेनजी समर्थकहरू आक्रोशित बनेका छन् । त्यसयता कञ्चनपुरसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा सरकारी तथा राजनीतिक दलका कार्यालय, घर, बजार क्षेत्रमा निरन्तर तोडफोड र आगजनी भइरहेका छन् ।
प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन प्रयासरत रहेपनि आन्दोलनकारी समूह अझै आक्रामक बन्दै गएका छन् । परिस्थिति थप बिग्रन नदिन जिल्ला प्रशासन कार्यालयले ११ बजेदेखी जिल्लामा कर्फ्यु आदेश समेत जारी गरेको छ ।


