सडकमा रफ्तारको कहर: आधाभन्दा बढी दुर्घटनाको कारण तीव्र गति

प्रकाशित मिति:

देशका विभिन्न स्थानमा वैशाख महिनाभर भएका सवारी दुर्घटनाको तथ्याङ्क हेर्दा आधाभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पाइएको छ । नेपाल प्रहरीको आधिकारिक तथ्याङ्कअनुसार गत वैशाख महिनामा देशभर कुल दुई हजार २९४ वटा दुर्घटनाहरू भएका थिए, जसमध्ये एक हजार २५३ वटा दुर्घटनाको मुख्य कारण तीव्र गति नै थियो । सोही अवधिमा चालकको असक्षमताका कारण १३७ वटा, हतारमा बाटो काट्दा १३३ वटा, मादक पदार्थ सेवन (मापसे) का कारण ११२ वटा तथा अनावश्यक रूपमा ओभरटेक गर्दा ४६ वटा दुर्घटना हुन पुगेका थिए । उक्त महिना भएका दुर्घटनाहरूमा परी १५८ पुरुष, ५४ महिला र २७ बालबालिका गरी कुल २३९ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्कले देखाउँछ । यी दुर्घटनाहरूमा ७५२ जना गम्भीर घाइते भएका छन् भने तीन हजार २२० जनाले सामान्य चोटपटक व्यहोरेका छन् । अर्कातर्फ, वैशाख महिनामा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूविरुद्ध प्रहरीले कडा कदम चाल्दै एक लाख ३७ हजार ९४ वटा कारबाही गरेको छ, जसबाट रु ११ करोड ८२ लाख ७४ हजार १८९ राजस्व असुली भएको छ । सो अवधिमा भएका दुर्घटनाहरूमा जम्मा तीन हजार ३३४ वटा सवारी साधनहरू संलग्न थिए, जसमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन परेका छन् ।

दिनभरिको समयलाई हेर्दा साँझ ६ बजेदेखि राति १२ बजेसम्मको अवधिमा सबैभन्दा धेरै दुर्घटना हुने गरेको तथ्य अगाडि आएको छ । सो समयमा मात्रै ८५९ वटा दुर्घटनाहरू दर्ता भएका थिए । यसैगरी मध्याह्न १२ देखि साँझ ६ बजेसम्म ८५० वटा, बिहान ६ देखि मध्याह्न १२ बजेसम्म ५०६ वटा तथा मध्यराति १२ बजेदेखि बिहान ६ बजेसम्मको समयमा ७८ वटा दुर्घटना भएको प्रहरी तथ्याङ्कले स्पष्ट पारेको छ । यसै क्रममा पछिल्लो २४ घन्टामा मात्रै देशका फरक-फरक स्थानमा भएका सवारी दुर्घटनामा थप तीन जनाको मृत्यु भएको छ भने ९४ जना घाइते भएका छन् । यसरी २४ घन्टाभित्र मृत्यु हुनेहरूमा बागमती प्रदेशमा दुई जना र काठमाडौँ उपत्यकामा एक जना रहेको प्रहरीले जनाएको छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार