बढ्दो गर्मीमा महेन्द्रनगरका युवाको प्रसंशनीय काम: तिर्खाएका बटुवालाई सडकमै चिसो पानी

प्रकाशित मिति:

कञ्चनपुर । पछिल्लो केही दिनयता तराई क्षेत्रमा ह्वात्तै बढेको अत्यधिक गर्मी र तातो हावाको लहर (लू) का कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ । गर्मीका कारण सडकमा हिँड्ने बटुवा, दैनिक ज्यालादारी गर्ने मजदुर तथा सर्वसाधारण सबैभन्दा बढी मारमा परेपछि उनीहरूलाई तत्काल राहत दिने उद्देश्यले सडकमै एक मानवीय अभियान थालिएको छ । “हावा, पानी, छौँया खोजौँ, तातो हावाको लहरबाट बच्ने र बचाउने उपाय रोजौँ” भन्ने मूल नाराका साथ कञ्चनपुरको भीमदत्त नगरपालिकाको मुख्य चोक (भेटघाट चोक) मा सर्वसाधारणका लागि निःशुल्क चिसो पिउने पानी सेवा सुरु गरिएको हो ।

उत्थानशील युवा सञ्जाल (RYN) को आयोजना तथा भीमदत्त नगरपालिकाको मुख्य समन्वयमा सुरु भएको यस अभियानलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (NNSWA) र डीसीए (DCA) नेपालले प्राविधिक तथा सामाजिक सहकार्य गरेका छन् । भेटघाट चोकको चौतारीमा ब्यानर र चिसो पानीका जारहरू राखेर नीलो ज्याकेट (Vests) मा सजिएका युवा स्वयम्सेवकहरू सडकमै खटिएका छन् । उनीहरूले कडा घाममा बाटो हिँड्ने यात्रु, रिक्सा चालक, ठेलागाडा मजदुर र सर्वसाधारणलाई रोकेरै आदरपूर्वक चिसो पानी वितरण गरिरहेका छन् । अत्यधिक गर्मीमा सडकमै तिर्खा मेट्न पाएपछि स्थानीय तथा बटुवाहरू निकै खुसी देखिएका छन् भने युवाहरूको यस परोपकारी कार्यको चौतर्फी प्रशंसा भइरहेको छ ।

चिसो पानी वितरण गर्नुका साथै उक्त स्थानमा राखिएको ब्यानर र प्रचार सामग्री मार्फत नागरिकहरूलाई गर्मी र मौसम सम्बन्धी अपडेट रहन समेत सचेत गराइएको छ । मौसम सम्बन्धी आधिकारिक जानकारी, पूर्वसूचना तथा आवश्यक परामर्शका लागि सरकारको टोल फ्री नम्बर ११५५ मा सम्पर्क गर्न समेत आयोजकले सबैमा अनुरोध गरेको छ । अत्यधिक गर्मीको यस समयमा अत्यावश्यक काम बाहेक दिउँसो घरबाहिर ननिस्कन, निस्कनै परे छाता ओढ्न, सुतीको खुकुलो कपडा लगाउन र समय-समयमा पानी वा झोलिलो पदार्थ पिइरहन चिकित्सकहरूले समेत सुझाव दिएका छन् । चोक-चोकमा सुरु गरिएको यो खानेपानी अभियानले गर्मीको समयमा बजार आउने सर्वसाधारण र सडकमै पसिना बगाउने श्रमजीवी वर्गलाई ठुलो राहत पुग्ने विश्वास लिइएको छ ।

Advertisement - Godawari Municipalityspot_img

ताजा समाचार