काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस, कीर्तिपुरको गणित विभागमा एक छात्रले दुर्लभ र ऐतिहासिक सफलता हासिल गरेका छन्। डडेलधुराको परशुराम नगरपालिका वडा नम्बर १० निवासी राजेश जोशीले एमएस्सी गणित (M.Sc. Mathematics) विधामा उत्कृष्ट अंकसहित विश्वविद्यालय टप गरेका हुन्।
जोशीले एमएस्सी अध्ययनका क्रममा चारवटै सेमेस्टरमा ‘परफेक्ट स्कोर’ अर्थात् ४.० जिपिए (GPA) ल्याएर उत्तीर्ण भएका हुन्। गणित जस्तो जटिल र चुनौतीपूर्ण मानिने विषयमा लगातार चारवटै सेमेस्टरमा पूर्ण जिपिए (४.०) कायम राख्नुलाई त्रिविको इतिहासमै एक असाधारण र विरलै संजोगको रूपमा हेरिएको छ।
सुदूरपश्चिमको पहाडी जिल्लाबाट आएर देशकै प्रमुख विश्वविद्यालयको केन्द्रीय विभागमा यस्तो कीर्तिमानी सफलता प्राप्त गरेपछि जोशीको चौतर्फी प्रशंसा भइरहेको छ। उनको यो अद्वितीय उपलब्धिले उनको गृहजिल्ला डडेलधुरा र परशुराम नगरपालिकाको मात्र नभई सम्पूर्ण सुदूरपश्चिमकै गौरव बढाएको छ। कडा परिश्रम र दृढ संकल्प हुने हो भने जुनसुकै परिस्थितिमा पनि सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण राजेशले प्रस्तुत गरेका छन्।







