विराटनगर । कोशी प्रदेश सरकारले सरकारी कार्यालयहरूमा लागू गरिएको साताको दुई दिने सार्वजनिक बिदाको व्यवस्थालाई पुनर्विचार गर्न गृहकार्य थालेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यो व्यवस्थाबाट अपेक्षाकृत उपलब्धि नदेखिएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत सरोकारवाला र आम नागरिकसँग सुझाव माग्नुभएको हो।
मुख्यमन्त्री कार्कीले हप्ताको दुई दिन बिदा दिँदा सरकारी खर्च र इन्धन बचतमा खासै प्रभाव नदेखिएको निष्कर्ष निकाल्नुभएको छ। “कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहतका कार्यालयहरूलाई हप्ताको छ दिन नै कार्यदिन बनाएर साविक बमोजिम शनिबार मात्र बिदा कायम गर्दा कस्तो होला ?” उहाँले भन्नुभएको छ, “हप्ताको पाँच दिन मात्र काम गर्दा कार्यदिन नपुग्ने र प्रशासनिक खर्च एवं इन्धन बचतमा पनि खासै उपलब्धि देखिएन।”
सेवाग्राही र शैक्षिक क्षेत्रमा परेको असर
सङ्घीय सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने र इन्धन आपूर्तिमा देखिएको असहजतालाई कम गर्ने उद्देश्यले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।
तर, यो व्यवस्थाका कारण सेवाग्राही मारमा परेको, अस्पतालका बहिरङ्ग सेवा (ओपिडी) मा आउने बिरामीले सास्ती भोगेको र विद्यालयहरूमा पठनपाठनको समय अपुग भई कोर्ष सक्न दबाब बढेको भन्दै आलोचना हुँदै आएको छ। विद्यार्थी र अभिभावक दुवैका लागि यो समय व्यवस्थापन अव्यावहारिक भएको गुनासो बढेपछि प्रदेश सरकारले यसलाई परिमार्जन गर्ने संकेत दिएको हो।



