काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अर्थनीतिलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सार्वजनिक टिप्पणी गरेका छन्। न्यौपानेले अर्थनीति कागजी सूत्र मात्र नभएर जनजीवन र देशको वास्तविकतामा आधारित हुनुपर्ने बताएका छन्।
२०८० वैशाखको उपनिर्वाचन अघि डा. वाग्लेलाई रास्वपामा भित्र्याउन र तनहुँ–१ को वस्तुस्थिति बुझाउन न्यौपानेले मुख्य भूमिका खेलेका थिए। सोही क्षेत्रबाट चुनाव जितेर कांग्रेस छाडेका स्वर्णिम यसपटक पुनः तनहुँ–१ बाटै दोहोरिएका हुन् भने न्यौपाने तनहुँ–२ बाट निर्वाचित भएका हुन्। तर, एउटै जिल्लाका दुई क्षेत्रबाट जितेका यी दुई नेताबीचको सम्बन्ध बिग्रिएको निकटस्थहरूले बताएका छन्।
सम्बन्धमा दरार आएपछि सांसद न्यौपानेले अर्थमन्त्री वाग्लेको कार्यक्षमतामाथि नै प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमा लेख्दै न्यौपानेले भनेका छन्, “संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भयो। यसले देखाउँछ– अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ।”




