सामाजिक सञ्जालमा कसैको प्रतिष्ठामा आँच पुर्‍याए कानुनी कारबाही : कानुन मन्त्रालय

प्रकाशित मिति:

काठमाडौं । सरकारले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट कसैको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य गरेमा कडा कानुनी सजाय हुने स्पष्ट पारेको छ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘आफ्नो कानुनबारे जान्नुहोस्’ अभियान अन्तर्गत गाली बेइज्जती सम्बन्धी कानुनी प्रावधानबारे सचेतना सन्देश जारी गर्दै यस्तो चेतावनी दिएको हो।

जारी सन्देश अनुसार कसैलाई होच्याउने नियतले अपमानजनक शब्द प्रयोग गर्नुलाई ‘गाली’ र कसैको इज्जत, चरित्र वा ख्यातिमा आँच पुग्ने गरी आरोप लगाउनु वा त्यसको प्रचार गर्नुलाई ‘बेइज्जती’ मानिनेछ। जीवित व्यक्ति मात्र नभई मृतकको सम्बन्धमा परिवार वा नातेदारको भावनामा चोट पुग्ने गरी आरोप लगाउनु पनि बेइज्जती मानिने मन्त्रालयले जनाएको छ।

सामाजिक सञ्जालमा आधारहीन आरोप लगाउने क्रम बढेकाले मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा ३०५ देखि ३०८ सम्म गाली र बेइज्जती सम्बन्धी सजाय तथा जरिबानाको व्यवस्था रहेकाले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरूको मर्यादामा आँच नपुर्‍याउन मन्त्रालयले ध्यानाकर्षण गराएको छ।

ताजा समाचार