काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका दुई ठूला छिमेकी भारत र चीनका राजदूतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका छन्। सोमबार सिंहदरबारमा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता भएको हो।
सरकारको नेतृत्व गरेलगत्तै सामूहिक संवादलाई प्राथमिकता दिँदै आएका प्रधानमन्त्री शाहको यो कदमले प्रत्यक्ष राजनीतिक संवादको व्यावहारिक आवश्यकतालाई स्वीकार गरेको सङ्केत गर्छ। यसअघि गत वैशाखमा उनले विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।
भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेट प्रधानमन्त्री बनेपछि शाहको पहिलो एकल कूटनीतिक संवाद हो। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपाल-भारतको ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउने र साझा हितका क्षेत्रमा मिलेर काम गर्ने विषयमा जोड दिएका छन्। राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देश हस्तान्तरण गर्दै बहुआयामिक साझेदारीलाई सघन बनाउनेबारे छलफल भएको बताए।
सोही दिन प्रधानमन्त्री शाहले चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेट गरी नेपाल-चीन सम्बन्ध सुदृढ बनाउने, सहकार्य विस्तार गर्ने र विकास साझेदारीलाई अघि बढाउने विषयमा छलफल गरेका छन्।
एकैदिन दुवै छिमेकी मुलुकका राजदूतसँग छुट्टाछुट्टै संवाद हुनुले नेपालको स्वतन्त्र परराष्ट्र नीति र कूटनीतिक सन्तुलन कायम राख्ने प्रयासलाई स्पष्ट पारेको छ।




