बिजुलीको महसुल घटाउन सरकारको गृहकार्य तीव्र: ‘सिजनल ट्यारिफ’ मार्फत सहुलियत दिइने

प्रकाशित मिति:

काठमाडौैं । सरकारले विद्युत् महसुल दर घटाउने गृहकार्यलाई तीव्र पारेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रस्तावमा गत साउन १३ गते विद्युत् महसुल दरको पुनरावलोकन गर्न समिति गठन गरिएपछि नेपाल विद्युत् प्राधिकरणले उपभोक्ता र उद्योगहरूलाई सहुलियत दरमा बिजुली उपलब्ध गराउने तयारी अघि बढाएको हो।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा गठित समितिको बैठक मन्त्रालयमा बस्दैछ। उक्त समितिमा ऊर्जा मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधि, ऊर्जाविज्ञ, उपभोक्ता तथा वित्तविज्ञहरू सदस्य छन्।

वर्षायाममा उत्पादित विद्युत् बढी भएर खेर जाँदा प्राधिकरणले मासिक रूपमा नोक्सानी व्यहोर्नु परेकाले आन्तरिक खपत बढाउन महसुल पुनरावलोकन गर्न लागिएको संयोजक शाहीले बताए। ‘सिजनल ट्यारिफ’ लागू गरी वर्षायामको बिजुली सस्तो बनाउँदा उद्योगहरूले आफ्ना उत्पादन उपभोक्तालाई कति सहुलियतमा उपलब्ध गराउन सक्छन् भन्ने विषयमा पनि समन्वय भइरहेको र छिटै निर्णयमा पुगिने उनले जानकारी दिए।

सरकारले बिजुलीको कर बढाएको भनेर आलोचना भइरहेका बेला ऊर्जा मन्त्रालयले उपभोक्ता र उद्योगी दुवैलाई राहत पुग्ने गरी यो उपाय खोजेको हो।

ताजा समाचार