काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका प्रक्रिया तथा सांगठनिक गतिविधि तत्काल रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ।
बिहीबार पूर्वमहामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको देउवा पक्षका नेताहरूको बैठकले महाधिवेशनका सम्पूर्ण गतिविधि रोक्न अन्तरिम आदेशको माग गर्दै अदालत जाने निर्णय गरेको हो।
नेता मीन विश्वकर्माका अनुसार पार्टीको केन्द्रीय समितिको आधिकारिकता विवादसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र अदालतले पुनरावलोकनको आदेश दिइसकेको अवस्थामा संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका अघि बढाएकाले त्यसविरुद्ध कानुनी उपचार खोज्न लागिएको हो।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने गरी तल्ला तहको अधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ। आधिकारिकताको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी कुनै पनि काम अघि नबढाउन अन्तरिम आदेशको मागसहित रिट दर्ता गर्न लागिएको देउवा पक्षले जनाएको छ।




