काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन्।
चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३ देखि १९ सम्म हुने यस भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले बेइजिङमा आयोजना हुने १३औँ ‘बेइजिङ सियाङसान फोरम’ मा सहभागिता जनाउने कार्यक्रम तय भएको छ। नेपाली सेनाका अनुसार यस भ्रमणले नेपाल र चीनबिचको आपसी सैनिक सम्बन्ध विस्तार गर्न तथा सैनिक कूटनीतिमार्फत समग्र परराष्ट्र नीतिलाई टेवा पुर्याउन मद्दत गर्ने विश्वास लिइएको छ।
बेइजिङ प्रस्थान गर्नुअघि प्रधान सेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। त्यसलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरे।
प्रधान सेनापति स्वदेश नफर्किँदासम्म उनको अनुपस्थितिमा नेपाली सेनाको दैनिक प्रशासनिक तथा कमान्ड कार्य सम्हाल्न बलाधिकृत रथी प्रदीपजङ्ग केसीलाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिइएको सेनाले जनाएको छ।




