काठमाडौं । बाढीप्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रभु बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड ५१ लाख रुपियाँभन्दा बढी रकम सहयोग गरेको छ।
बैंकका सञ्चालक तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा सङ्कलन गरेको ४० लाख ८० हजार ५० रुपियाँ कोषमा जम्मा गरिएको छ। सो रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरे।
सञ्चालक र कर्मचारीहरूको व्यक्तिगत सहयोगबाहेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत थप दुई करोड ११ लाख ११ हजार १११ रुपियाँको चेकसमेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसअघि पनि बैंकले बाढीप्रभावित क्षेत्रका नागरिकका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत एक सय थान टेन्ट र एक सय थान स्लिपिङ ब्याग वितरण गरेको जनाएको छ। प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बैंकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ता नागरिकहरूको खोजी तीव्र पार्न कामना गरेको छ।




